वर्कशपमै हात हालाहाल्

वर्कशपमै हात हालाहाल्

चलचित्र वृतमा कलाकारबीच भनाभन् हुनु र सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप हुनु खासै नौलो होइन । तर यतिबेला भने दुई जनाबीच हात नै हालाहाल् भएको घटना सार्वजनिक भएको छ । 
 

बन्दै गरेको नयाँ चलचित्र ‘पिताम्बर’का स्क्रीप्ट राइटर प्रदिप भारद्वाज र छायाँकार पुरुषोत्तम प्रधानबीच हात हालहाल् भएको हो । गत सोमबार कान्तिपुर फिल्म एकेडेमीमा चलचित्रको वर्कशप चलिरहेको बेला दुई जनाबीच विवाद भएको थियो ।

विवाद यतिसम्म बढ्यो कि दुबैजनाले एक अर्काको घाँटी समेत समाते । त्यहाँ उपस्थित अन्य कलाकारहरुले डराएर प्रहरीलाई खबर गरेका थिए । तर चलचित्रकी निर्देशक कृषा चौलागाँइले प्रहरी आउनुअघि नै उनीहरुलाई साम्य बनाइन् । पछि प्रहरीले चलचित्रको टिमलाई सम्झाएर फर्किएको बताइन्छ । 

यहाँ बुझ्नुपर्ने कुरा के छ भने, भारद्वाज अहिले चल्तीका स्क्रीप्ट राइटर हुन् भने प्रधान वरिष्ठ छायाँकार तथा पुरुषोत्तम प्रधान फिल्मस्का मालिक हुन् । र, चलचित्र ‘पिताम्बर’ पनि केपी फिल्म्स् र प्रधान फिल्म्स्को संयुक्त ब्यानरमा बन्न लागेको हो । प्रधानले भारद्वाजको कथामा केही आपत्ती जनाएपछि दुई जनाबीच झगडा भएको खुलेकाे छ। 

चलचित्रको निर्माण टिमले यो झगडालाई लुकाउन खोजेको थियो । तर जनआस्थाले थाहा पाएपछि पुरूषाेत्तम प्रधानलाई झगडाकाे कारण सोधेको थियो । जवाफमा उनले भने, ‘त्यो अलिकति कुरा मिलेन, सामान्य झगडा भएको हो । कहिलेकाही यस्तो भइहाल्छ ।’ 

‘प्रहरी नै आउनुपर्ने गरी भएको झगडाको कारण स्क्रीप्ट मात्रै हो त ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले फर्काए, ‘वर्कशपमा हामी ९/१० जना थियौ, स्क्रीप्टमा केही कुरामा सहमति हुन नसकेपछि सामान्य विवाद भएको हो, अरु त्यस्तो केही कारण छैन ।’ 

छायाँकार प्रधानले झगडापछि मिलापत्र गरेर अहिले फेरि वर्कशपमा सँगै काम गरिरहेको पनि जानकारी गराए । 

स्मरण रहोस्, ‘पिताम्बर’लाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यसमा चल्तीका आधा दर्जन कलाकार पहिलो पटक एकैसाथ काम गर्दैछन् । प्रदिप खड्का, सौगात मल्ल, आँचल शर्मा, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासिया लगायत मुख्य भूमिकामा देखिदैछन् ।

टिप्पणीहरू