गुप्तचर प्रमुखको लाइसेन्समा छेडखानी

गुप्तचर प्रमुखको लाइसेन्समा छेडखानी
सुन्नुहोस्

राष्ट्रिय हित एवम् सुरक्षाबारे गोप्य सूचना संकलन गर्ने निकायका हाकिमको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा छेडखानी ! सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्यता हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको लाइसेन्समा झेल भएको पाइएको छ । 

एउटा लाइसेन्समा उनको जन्ममिति २०२८ र अर्कोमा २०२३ छ । फरक–फरक जन्ममिति भएको दुईटा लाइसेन्स भेटिएपछि हाल विभागमा उनको दुईटा नागरिकता भएकोसम्म गाइँगुइँ चलेको छ । श्रम तथा यातायात व्यवस्था कार्यालयबाट २०५६ भदौ २२ गते जारी लाइसेन्समा जन्ममिति २०२३ असार ३ उल्लेख छ । यता, अर्को लाइसेन्समा जन्ममिति २०२८ असार ३ छ । जासुसी संस्थाका हाकिमको लाइसेन्समा छुट्टाछुट्टै जन्ममिति फेला परेपछि जनआस्थाले तथ्य बुझ्न उनको गृहजिल्ला रोल्पामा सम्पर्क गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उनको जन्ममिति २०२८ असार ३ गते छ । यातायात व्यवस्था विभागबाट प्राप्त लाइसेन्सको विवरणमा पनि जन्ममिति २०२८ नै छ ।  यसले कसैले उनको लाइसेन्समा छेडखानी गरेको देखिन्छ । रोल्पा साविक गजुल गाविस वडा नम्बर १ का स्थायी बासिन्दा उनले २०४४ माघ २० गते पहिलोपटक नागरिकता लिएका थिए । २०७३ माघ १९ गते प्रतिलिपि लिएको सिडियो कार्यालयले जानकारी दिएको छ । गञ्जबहादुर थापाका छोरा उनको नागरिकता नम्बर २८४–८८२ हो । 

दुवैपटक जारी नागरिकतामा जन्ममिति एउटै छ । जन्ममितिमा २०२८ स्पष्ट उल्लेख हुँदाहुँदै लाइसेन्समा अर्को मिति कसरी लेखियो ? भन्ने प्रश्न उठेको छ । थापाका अनुसार उनी डिएसपी हुँदा लाइसेन्सको विवाद निकालिएको थियो । ‘यो २०६४–६५ सालतिरको कुरा हो । म डिएसपी थिएँ । प्रतिस्पर्धी धेरै हुन्छन् । मैले एक जनालाई लाइसेन्स दिएको थिएँ । उसले फोटोकपी गराएछ । त्यो लाइसेन्समा २८ को ठाउँमा २३ बनाएर एक जना पत्रकारलाई दिएछ । त्यो विषयमा गोलमेच पत्रिकाले समाचार प्रकाशित गर्‍यो । मैले प्रेस काउन्सिलमा उजुरी दिएँ । त्यो समाचार लेख्ने पत्रकारलाई कारबाही पनि भएको थियो’, उनले भने । आफूलाई विवादमा तान्नका लागि बेलाबखत उक्त विषय चर्चामा ल्याउने गरिएको उनको भनाइ छ । भन्छन्, ‘यो कसले गरिरहेको छ, मलाई राम्ररी थाहा छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू