सन्दीप लामिछानेको खड्को अझै बाँकी

सन्दीप लामिछानेको खड्को अझै बाँकी
सुन्नुहोस्

उच्च अदालत पाटनबाट जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दिप लामिछानेको अन्तिम छिनोफानो महान्यायाधिवक्ताको हातमा निर्भर हुने भएको छ । 

उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरुद्ध जबर्जस्ती करणी आरोपमा मुद्दा चलाउनुपर्ने रायसहितको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालयमा पठाएको छ । स्रोतका अनुसार फाइल आइतबार ४ बजे महान्यायाधिवक्ता कार्यालयमा पेश भएको थियो । पीडित भनिएकी युवती गौशाला २६ (छ) ले दिएको जाहेरीअनुरूप चलेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते सन्दिपले सफाइ पाउने फैसला सुनाएको थियो । महान्यायाधिवक्ता कार्यालयले सोमबारबाट फाइल अध्ययन गरिरहेको छ ।

उच्च सरकारी वकिलले फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल पठाएपछि मुद्दा बल्झिने सम्भावना जीवित देखिएको हो । महान्यायाधिवक्ताबाट सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय भएमा पुनः कानुनी लफडा शुरु हुने छ । यसअघि पीडित भनिएकी गौशाला २६(छ) ले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै सरकारी वकिलसमक्ष निवेदन दिएकी थिइन् । न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको व्यहोरा उल्लेख गर्दै मुद्दा नचलाउन आग्रह गरेकी थिइन् । उच्च सरकारी वकिलबाट एकथरी राय आए पनि सर्वोच्चमा पुनरावेदन गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अन्तिम अधिकार अब महान्यायाधिवक्ता रमेश बडालको हातमा हुनेछ ।

गौशाला २६ (छ) को जाहेरीमा काठमाडौं जिल्ला अदालतले सन्दिपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला सुनाएको थियो । जिल्ला अदालत काठमाडौंबाट २०८०, पुस २५ मा उक्त फैसला भएको थियो । जिल्लाले पीडितलाई थप दुई लाख क्षतिपूर्ति भराउनसमेत भनेको थियो । उक्त फैसलामा तथ्य, सबुद प्रमाणको सही विश्लेषण नभएका कारण अन्याय भएको जिकिरसहित सन्दिप उच्च अदालतमा गएका हुन् । उच्च सरकारी वकिल कार्यालयले जिल्लाकै फैसलाअनुरूप सन्दिपलाई सजाय हुनुपर्ने राय प्रतिवेदनमा लेखेको छ ।

सन्दिपले २०७९ साल ५ भदौमा सिनामंगलस्थित एक होटलमा राखेर बलात्कार गरेको दाबीसहित गौशाला २६ ले दिएको जाहेरीअनुरूप मुद्दाको उठान भएको थियो । प्रहरी बयानमा ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर लामिछानेले शुरुमा नगरकोट लगेको र फर्किएपछि सिनामंगलस्थित एक होटलमा सँगै बसेको बेला बलात्कार भएको व्यहोरा गौशाला– २६ ले खुलाएकी थिइन् । उनले आफूलाई नाबालिका दाबी गर्दै आएकी छन् । तर जिल्ला र उच्च अदालत दुबैले पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिका मान्न अस्वीकार गरेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू