हुन्न भन्नेको यसरी लिइन्छ हुर्मत

हुन्न भन्नेको यसरी लिइन्छ हुर्मत

कोही मान्छे कतिसम्म चिसो हुन सक्छ र आफूमाथि लगाएका गुनलाई कसरी बिर्सन्छ ? यदि कसैलाई यसको उदाहरण खोज्न मन छ भने सीधै बालुवाटारतर्फ हान्निए हुन्छ । किनकि त्यहाँ नेपालको कार्यकारी प्रमुखका रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास छ ।

उल्लिखित कथनको पछिल्लो प्रमाण हो साउन १६ गतेको एउटा घटना । सो दिन प्रधानमन्त्रीले पूर्व निर्धारित एउटा कार्यक्रममा आफू उपस्थित हुन असमर्थ रहेको खबर कार्यक्रम शुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र आयोजकलाई पठाएका थिए । आयोजक थियो इन्सेक र कार्यक्रम थियो चर्चित मानवअधिकारवादी योद्धा प्रकाश काफ्लेको बत्तीसौं स्मृति दिवस । मानवअधिकार संरक्षण मञ्च नामक संस्थाका निर्माता काफ्लेको देहान्त घोप्टे भीरमा भएको थाई एयरको बिमान दुर्घटनामा भएको थियो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित सो कार्यक्रममा प्रधानमन्त्रीले आधा घण्टाअघि मात्र आउन नसक्ने खबर पठाएपछि आयोजकहरू निकै तनावमा परेका थिए । तुरुन्तै गरिएको आग्रहलाई स्वीकार गर्दै उपप्रधानमन्त्री विष्णु पौडेल आइदिँदा बल्ल इज्जत धानिएको थियो ।

समग्रमा एमाले र व्यक्तिगत रूपमा केपी ओलीको राजनीतिलाई अघि बढाउन र उनको राजनीतिक यात्रालाई सहज बनाउन इन्सेकको नेतृत्व गर्दै आएका प्याकुरेल दाजुभाइको कम योगदान छैन । तथापि, प्रधानमन्त्री बनेका बेला ओलीले प्याकुरेल दाजुभाइलाई नै खल्लो हुनेगरी किन यस्तो बेवास्ता गरे त? यसको कारण केलाउन धेरै पछाडि फर्कनुपर्दैन । नयाँ सरकार बन्ने मुखैमा क्याबिनेटले गरेको राजदूतहरूको सिफारिसमा एउटा नाम थियो,सुशील प्याकुरेल । तर, कोरियाका लागि सिफारिस भएका प्याकुरेलले आफूसँग कुनै सल्लाह या सहमति नलिएको भन्ने ब्यहोराको विज्ञप्ति जारी गरे । ओलीलाई आफ्नो निर्णयमाथि असहमति जनाउँदा निकै ठूलोे ठेस लाग्यो । जसको उनले मौका पर्नासाथ दिइहाले ।

सामान्यतया राजनीतिमा यस्ता झिना मसिना कुराको हिसाबकिताब राखिन्न । त्यसमाथि पनि केपी ओलीजस्ता शीर्ष नेताले मनमा चिसो राखिराख्छन् भनेर धेरैले कल्पना गर्दैनन् । तर, जानकारहरू भन्ने गर्छन्– केपी ओलीको स्वभाव भनेको चित्र गुप्तको झैँ हिसाबकिताब राखिराख्ने र एन मौकामा तुलोमा जोख्ने हो । यदि, ओलीले यस्तो स्वभाव नदेखाउने हो र मनमा तुष नपाल्ने हो भने न माओवादीसमेत मिलेर बनेको नेकपा फुट्थ्यो न पार्टीभित्र गुटहरू बन्थे र माधव नेपाल, झलनाथ खनालजस्ता नेताले अर्को छुट्टै पसल थाप्नुपथ्र्याे । ओलीनिकट केही नेता भन्ने गर्छन्– यदि अभिमान नदेखाउनुभएको भए अहिले एक्लो प्रधानमन्त्री उहाँ नै रहिरहनुहुन्थ्यो । नेकपा नामको पार्टी सिंगै रहन्थ्यो । न यो हालमा वामपन्थीहरू निरीह बन्न पुग्थे न त राज्य सत्ताको बागडोरबाट कहिल्यै केपी ओलीले च्यूत हुनुपथ्र्याे ।

विश्लेषकहरू के भन्छन् भने अहिले सबैभन्दा जोखिमपूर्ण अवस्थामा एमाले रहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको इशारामा चल्ने र निर्णय गर्नुपर्ने देखिएको छ । कुनै पनि बेला माओवादी र कांग्रेस मिलेर ओलीलाई कुर्सीबाट झार्न सक्छन् र त्यो सम्भावना हरदम छ । नयाँ सरकार बनेसँगै पार्टीहरूमा एक अर्कालाई गालीगलौज गर्ने प्रवृत्तिमा देखिएको जुन सुधार छ त्यसले भविष्यमा जुनसुकै पार्टीको जुनसुकै पार्टीसँग सहकार्य हुन सक्ने सम्भावनालाई अझ बलियो बनाएको छ । बरु एमालेको पछिल्लो बैठकले गरेका निर्णयहरूलाई हेर्दा त्यो पार्टीभित्र नै धेरै असहिष्णुता बढेको जस्तो देखिन्छ । सम्भावना भएका र अघि बढ्न तयार बनेका धेरै नेतालाई कमजोर पार्ने काम यो बैठकले गरेको भन्दै पछिल्लो बैठकका निर्णयहरूको पार्टीभित्रै आलोचना हुँदै गएको छ । क्रियाशील नेताहरूलाईसमेत पछि धकेल्दै मनले खाएका व्यक्ति च्याप्ने नेतृत्वले पार्टीको कुनै घोषित जिम्मेवारीमा रहेका प्याकुरेल बन्धुहरूको चित्त दुखाइ पो बढ्छ कि भन्ने कुराको हेक्का राख्ने कुरै भएन । काठमाडौँका चर्चित एमाले नेता –कालिमाटी) जीवन मानन्धरका छोरा सुमन स्वतन्त्र उम्मेदवार बन्नुपर्ने बाध्यतामा पुगेको घटना अर्को दृष्टान्त हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू