महन्थहरु पनि सेफ ल्याण्डिङको खोजीमा
मुलुकको राजनीतिमा नयाँ स्वरुप देखिन थालेको छ । स्थानीय निर्वाचनअघिको राजनीतिक समीकरण र बुझाइमा एकाएक फरकपन देखिन थालेको छ । अघिल्लो वर्षको साउन अघिसम्म सबैजसो साना र क्षेत्रीय राजनीतिक दल सत्तारुढ एमालेको दबदबामा निरीह देखिन्थे ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय सरकारको गठनपछि त्यो परिस्थितिमा सामान्य फरकपना देखिएको हो । हालै भएको स्थानीय तहको निर्वाचनमा एमाले र महन्थ तथा राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नसोचेको पराजय व्यहोरेपछि नयाँ ढंगले राजनीतिक जोड घटाउ हुन थालेको छ ।
मधेश केन्द्रित राजनीतिमा सक्रिय यसअघिको जनता समाजवादी पार्टीबाट ठाकुर र महतोहरु अलग भएपछि देखिएको चुनावी परिणामले पनि क्षेत्रीय राजनीतिमा धेरै खालका चुनौतीलाई उजागर गरिदिएको छ । यसअघि नेकपा माओवादी केन्द्रको विकल्पमा सशस्त्र आन्दोलनलाई निरन्तरता दिन कस्सिएको विप्लव नेतृत्वको माओवादीले अन्ततः अघिल्लो वर्षदेखि सुरक्षित राजनीतिक अवतरणको निम्ति पाइला चालेको थियो ।
यो वर्षको स्थानीय निर्वाचनदेखि उक्त पार्टीले औपचारिक चुनाव चिन्ह उपयोग नगरी संसदीय राजनीतिमा प्रवेश गरेको हो । त्यहि क्रममा पार्टी दुई चिरा बनेको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारसँग विभिन्न माग राखेर विप्लवहरुले राजनीतिक अवतरण गरेझैं अहिले लोसपा नेतृत्वले पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष विभिन्न आग्रह गरेको बुझ्न कुनै गाह्रो छैन ।
यसबीच गठबन्धन सरकारले नागरिकता विधेयकको तयारी गरेको छ । प्रधानमन्त्री देउवा, सभामुख अग्निप्रसाद सापकोटा,गठबन्धनमा आवद्ध राजनीतिक दलका शीर्ष नेता र गृहमन्त्रीहरुबीच उक्त विधेयकलगायतका विषयमा विभिन्न चरणमा छलफल भएका छन् ।
गठबन्धन दलहरुबीच अझै पनि उपसभामुखको निर्णय हुन सकेको छैन । झण्डै डेढ वर्षदेखि उक्त पद रिक्त छ । लोसपाले दुई मन्त्री र उपसभामुखको जिम्मेवारी पाएको अवस्थामा गठबन्धन सरकारमा सामेल हुनसक्ने लक्षण देखाएपछि अस्ति प्रधानमन्त्रीसँग लोसपाका अध्यक्ष महन्थ ठाकुरले र हिजो उपेन्द्र यादवले भेट गर्नुभएको हो ।
भलै लोसपाको उक्त मागप्रति जसपाको नेतृत्व उग्र विरोधमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । तर, आफूहरुसँग बृहत छलफल नगरी लोसपालाई दुई मन्त्री र उपसभामुख दिन खोजिएमा उपेन्द्र यादवहरु गठबन्धन दलका नेता तथा प्रधानमन्त्रीसँग उग्र हुने सम्भावना छ ।
टिप्पणीहरू