माधवका नयाँ मन्त्रीको शपथ रोकिनुमा प्रचण्डमाथि आरोप
सरकारमा रहेका आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको नेकपा एकीकृत समाजवादीको निर्णय एकाध घण्टामा रोकिएको छ । हिजो बसेको सचिवालय बैठकले गरेको निर्णय रातारात रोकिएको हो ।
पार्टीको निर्णयलाई लिएर साँझदेखि नै मन्त्रीहरुको दौडधुप चलेको थियो । कतिपय मन्त्री कहिले प्रचण्ड निवास त कहिले प्रधानमन्त्री निवास पुगेर छलफल चलाइरहँदा मन्त्रीहरु बदलिने निर्णय कार्यान्वयन हुने कि नहुने भन्ने कुरो आफैमा अन्यौलग्रस्त देखिएको थियो ।
प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री फेर्ने भए सत्ता गठबन्धनको बैठकबाटै निर्णय गर्न आग्रह गर्नुभएको बताइन्छ । उहाँले ‘तपाईंले झैँ अरु पार्टीले पनि फेरौं,नत्र एउटा मात्र पार्टीका मन्त्रीलाई फिर्ता बोलाउँदा नकारात्मक सन्देश जान्छ,’ भनेको र अध्यक्ष प्रचण्डले उक्त भनाइलाई समर्थन गरिदिँदा समाजवादीको सचिवालय निर्णय तत्काल कार्यान्वयन नहुने अवस्था देखिएको हो ।
नेकपा एकीकृत समाजवादीले हिजो औपचारिक रुपमा गरेको निर्णय एकाध घण्टामै रोकिएको छ । उता शीतल निवासमा शपथ ग्रहणको आवश्यक तयारीको निम्ति हिजै सरकारी उर्दी भएको थियो ।
अध्यक्ष प्रचण्डको उक्त निर्णयले सत्ता गठबन्धन दल एकीकृत समाजवादीलाई अप्ठ्यारो पर्ने अड्कल पनि लगाइएको छ । तर, यो घटनाले सत्ता गठबन्धनमा पाँच वटा दल भए पनि आन्तरिक निर्णयको साँचो दाहालसँग रहेको भन्नेहरुलाई बल मिलेको छ ।
उहाँको उक्त सुझावरुपी निर्णयले सरकारमा सहभागी अन्य दलको निर्णय कार्यन्वयन नहुने अवस्था उत्पन्न भएको अवस्थालाई धेरै जनाले विभिन्न कोणबाट अर्थ्याउन थालेका छन् । अर्काथरि माओवादीले अध्यक्ष माधवकुमार नेपालको उक्त निर्णयलाई प्रचण्डले साथ नदिएको भनेरसमेत कुरा काट्न थालिसकेका छन् ।
टिप्पणीहरू