निजगढ विमानस्थलको विवादमा नेपाल बार पनि तानियो

निजगढ विमानस्थलको विवादमा नेपाल बार पनि तानियो

निजगढ विमानस्थल निर्माणलाई लिएर कानुन व्यवसायीहरुको संस्था नेपाल बार पनि विवादमा तानिएको छ । विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको हालैको आदेशमाथि सरकार, संसदीय समिति र दलहरूबाट भएको टिप्पणीमाथि बारले आपत्ति जनाएको हो ।

बारले आदेशको पूर्ण पाठ नआउँदै भएका टीकाटिप्पणीमाथि खेद प्रकट गरेको छ । संसदीय समितिले अदालतको आदेशमाथि गरेको टिप्पणीलाई न्याय निरुपणमाथिको गम्भीर प्रहार ठहर गरेको छ । ‘न्यायपालिकाबाट भएका फैसलाको स्वस्थ टीकाटिप्पणी हुनसक्ने भए पनि मौलिक हकको संरक्षक, संविधान तथा कानूनको अन्तिम व्याख्याता सर्वोच्च अदालतप्रति आदेशको पूर्ण पाठ नआउँदै जनविश्वास र जनआस्था नै खल्बलिने गरी भएका यस्ता टीकाटिप्पणीप्रति सर्वाेच्च अदालत बार खेद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

जेठ १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य रोक्न आदेश दिएको हो । उक्त आदेशपछि प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विमानस्थल निर्माण कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

नागरिक समाज पनि उक्त विमानस्थलको पक्ष र विपक्षमा विभाजित भएको छ । तर, विमानस्थलको विपक्षमा भन्दा पक्षधर निकै धेरै देखिन्छन् ।

टिप्पणीहरू