नर्वेजियन मन्त्री पनि आइपुगिन् नेपाल
नर्वेका एक जना मन्त्री चढेको विमान केहीबेर अघि काठमाडौंमा अवतरण गरेको छ । अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री जोर्ग सान्जसर तीन सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेकी हुन् ।
टोलीमा वरिष्ठ सल्लाहकारद्वय गुनहिल्ड एरिक्सन र आन्ने ग्ल्याड फ्रेडरिक्सन रहेको बताइएको छ । चार दिनको औपचारिक भ्रमणमा उक्त टोली आज बिहान दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा नेपाल आइपुुगेको हो ।
मन्त्रीको टोलीलाई स्वागत गर्न राजदूत तोरुन ड्राम्दाल,मिनिस्टर काउन्सिलर डेग्नी जोसलगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । टोलीमा तीन जना चालक र नर्वेजियन मन्त्रीको सुरक्षाको निम्ति नेपाल प्रहरीले उपलब्ध गराएको एक जना अंगरक्षक पनि त्यहाँ पुगेका थिए ।
टोली आगामी शुक्रबार साँझ साढे ८ बजे दोहा हुँदै स्वदेश फर्किनेछ । भ्रमणबारे विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

टिप्पणीहरू