अछामका सिडियो र डिएसपीलाई निलम्बन गर्न सर्वदलीय माग
अछाममा भएको बालक हत्यालाई लिएर चार राजनीतिक पार्टीले निष्पक्ष छानबिनको माग गरेका छन् । नेकपा एमालेका इन्चार्ज भीमबहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका सह इन्चार्ज धर्मराज तिमिल्सेना,नेकपा एकीकृत समाजवादीका सह इन्चार्ज केशव शाही र नेकपा कम्युनिष्ट पार्टी (विप्लव) का इन्चार्ज सर्जन धार्मी चट्टानले संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
पञ्चदेवल नगरपालिका–३ मा गत शनिवार विभत्स हत्या गरी फालिएका १५ वर्षीय बालक विनोद शाहीको शव फेला परेको थियो । शव प्रकृति मुचुल्का कार्य सम्पन्न भएपनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म पनि पीडिततर्फबाट जाहेरी लिन नमानेको विज्ञप्तिमा उल्लेख छ ।
घटना घटेको तीन दिन बितिसक्दा पनि जंगलबाट शव नउठाइएको र पोस्टमार्टम पनि नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् । उनीहरुले दोषीहरुलाई तत्काल पक्राउ गरी सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
साथै, अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र प्रहरी नायब उपरीक्षक रविराज थपलियालाई निलम्बन गर्न पनि उनीहरुले जोड दिएका छन् । पीडित पक्षको तर्फबाट दिइएको किटानी जाहेरी दर्ता गरी न्याय प्रक्रिया अघि नबढाएमा संघर्षमा जाने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू