हामी यस्तै कुरामा रमाउने,अरुले रातारात कमाउने

हामी यस्तै कुरामा रमाउने,अरुले रातारात कमाउने

हिजो राजधानीमा नेपालका लागि चिलीका राजदूतसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र पदाधिकारीहरुले भेटवार्ता गरे । राजदूत हुवाँ एङ्गुलो र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विदेशी लगानी, व्यापार, पर्यटन, जलस्रोत र सूचनाप्रविधिलगायतका विषयमा छलफल गरे ।

त्यस अवसरमा दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीको निम्ति इच्छुक रहेको बताइयो । राजदूत एङगुलोले नेपालमा लगानीको सम्भावनाबारे आफ्नो मुलुकका निजी क्षेत्र र नागरिकलाई जानकारी गराउने बताए ।

नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष नाघे पनि व्यापार, व्यवसाय र पर्यटनमा खासै प्रगति भएको छैन । भौगोलिक हिसाबले निकै टाढाका यी दुई मुलुकबीच औपचारिक कूटनीतिक सम्बन्ध बाहेक अन्य सम्बन्धको क्षेत्र फराकिलो बनिसकेको छैन ।

त्यसअवसरमा अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने मार्ग देखाउनुभएको थियो । तर नेपाल र चिलीबीच पछिल्लो आठ वर्षमा भएको व्यपारलाई हेर्दा नगण्य देखिन्छ । नेपालबाट चिलीमा खासै निर्यात भएको देखिँदैन ।

नेपालले त्यहाँबाट छाला, ऊन, दुग्ध पदार्थ, फलफूललगायत घरायसी प्रयोजनका सामान मगाएको तथ्याङ्कमा देखिन्छ । सन् २०१४ मा चिलीबाट नेपालले २१ हजार अमेरिकी डलरको सामान मगाएको थियो । सन् २०१८ मा जम्मा ४५ सय डलर, सन् २०१९ मा शून्य, सन् २०२० मा २७ हजार पाँच सय र २०२१ मा एक लाख ६८ हजार अमेरिकी डलरको सामान त्यहाँबाट आयात गरिएको छ ।

तर अहिले यी दुई मुुलकबीच व्यापार र व्यवसायको अथाह सम्भावना रहेको बताइरहँदा हामी नजिकका लगानीकर्तालाई छाडेर अनकण्टार र कम सम्भावना भएको मुलुकतिर किन आँखा लगाइरहेका छौं ? दक्षिण अमेरिकी मुलुकहरुको आर्थिक प्रणालीलाई हेर्दा ब्राजिललगायत केही मुलुक बाहेक उनीहरु अन्य देशमा लगानी गर्नेभन्दा पनि आफ्नै मुुलुकमा उद्योग, कलकारखानाको स्थापना गरेर रोजगारी बढाउने र आत्मनिर्भर हुने अभियानमा देखिन्छन् ।

टिप्पणीहरू