विनोद हत्याका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

विनोद हत्याका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

अछामको पञ्चदेवल नगरपालिकाका एक १६ वर्षीय किशोरको शंकास्पद मृत्युको घटनामा पीडित पक्षले स्थानीय प्रशासन र राजनीतिक दलमाथि प्रश्न उठाएका छन् । मृत्युजस्तो जघन्य अपराधको घटना दबाउन राज्य संयन्त्र उदासीन भएको र हदैसम्मको लापरबाही देखिएको भन्दै पीडित पक्षले चरणबद्ध आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ ।

‘विनोद शाहीको न्यायका लागि संघर्ष समिति‘ ले पहिलो चरणअन्तर्गत चार दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो । मृतकका दाजु अर्जुन विक्रम शाहीको संयोजकत्वमा गठित समितिले आज घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछ भने भोलि गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । त्यस्तै, आइतबार साँझ पुत्लादहन र सोमबार १२ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने समितिले जानकारी दिएको छ ।

सोही दिन दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाइएको छ । पीडित पक्षले घटनामा नेपाली काँग्रेसको संलग्नता रहेको दाबी गर्दै प्रहरी प्रशासनको मिलेमतोमा सामसुम बनाउन खोजिएको आरोपसमेत लगाएको छ ।‘चुनावी प्रतिशोध साँध्न नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख अम्बिका चलाउने, काँग्रेसकै पूर्ववडाध्यक्ष सज्जनबहादुर शाही र प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीको नियोजित षड्यन्त्रबाट डिएसपी रविराज थपलियाको नेतृत्वमा आएका प्रहरीले जेठ १७ गते राति स्थानीयको घरमा दानवीय हस्तक्षेप गरे’, समितिले जारी गरेको वक्तव्यमा भनिएको छ,’ उक्त हस्तक्षेपबाट थुप्रै स्थानीय घाइते भए भने १६ वर्षीय भाइ विनोद शाही बेपत्ता पारिए ।’

बेपत्ता विनोदको गत शनिबार भीरबाट फालिएको अवस्थामा घर नजिकैको जंगलमा लाश फेला परेको थियो । पीडित पक्षले हत्या भएको दाबी गर्दै नगरप्रमुख र प्रहरी प्रशासनको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । प्रहरीले पीडित पक्षले दिएको किटानी जाहेरी लिन नमानेपछि अहिलेसम्म शव उठेको छैन ।

यो विषय संसदमा समेत उठेको छ । संसदको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले शव भेटिएको नौ दिन भइसक्दा पनि जाहेरी दर्ता नभएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् ।

टिप्पणीहरू