झोलुङ्गे पुल उद्घाटन गर्न गएका मेयर खोलामा खसे

झोलुङ्गे पुल उद्घाटन गर्न गएका मेयर खोलामा खसे

मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किँदा दर्जनौं घाइते भएका छन् । त्यहाँको दक्षिणी शहर कुएर्नाभामा पुल भत्किँदा स्थानीय मेयरसहित दर्जनौं मानिस घाइते भएका हुन् । रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्ने क्रममा भत्किएको अधिकारीहरूले जनाएका छन् ।

उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका हुन् । ‘पुलको उद्घाटन समारोह चलिरहेको थियो । त्यसका लागि थुप्रै मानिस पुलमाथि हिँडिरहेका थिए । लगतै झोलुङ्गे पुल भत्कियो, अनि सबै जना खोलामा खसे,’ भिडियो खिचिरहेका एक पत्रकारले भने ।

उद्घाटनपूर्व झोलुङ्गे पुल भत्किँदा थुप्रै मानिस घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काठको बोर्ड र फलामबाट बनाइको झोलुङ्गे पुल एक्कासी खस्दा उक्त दुर्घटना भएको हो । मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले पनि मेयर जोसे लुइस उरिओस्टेगुइ सामान्य घाइतेको पुष्टि गरेका छन् ।

स्थानीयका अनुसार क्षमताभन्दा बढी मानिस उभिएका कारण झोलुङ्गे पुल भत्किएको हो । पुल भत्किएपछि मेयर नै खोलामा खसेको भिडियोले यतिबेला सामाजिक सञ्जाल तातेको छ ।

टिप्पणीहरू