बालुवाटार गएको हो, सरकारमा होइन : लक्ष्मणलाल कर्ण

बालुवाटार गएको हो, सरकारमा होइन : लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको दाबी गरेका छन् । आज संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्दै उनले लोसपाले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरै नगरेको बताएका हुन् ।

कर्णले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन आउ भनेर नभनेको स्पष्ट पार्दै भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै गरेका छैनौं । उहाँले पनि हामीलाई मन्त्री बन्न आउ भनेर नभनेको कुरो तपाईंहरु आफनै पाराले प्रचार गरिराख्नु भएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई एकीकरणका लागि आग्रह गरेको भन्ने समाचार र चर्चाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले विगतमा आफूहरुलाई पार्टीबाट निकालेको र पार्टी विभाजनको निम्ति निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले आफ्नै ढंगले व्याख्या गर्न थालेको उनको विश्लेषण छ । अध्यक्ष यादवको संकट निवारणपछि लखेट्ने प्रवृत्ति र चरित्र रहेको उनले आरोप लगाए ।

उनले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र, किन एकीकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न समेत गरेका छन् ।

टिप्पणीहरू