माग लण्डनमा, आन्दोलन रत्नपार्कमा

माग लण्डनमा, आन्दोलन रत्नपार्कमा

भूतपूर्व गोर्खा सैनिकहरूले बेलायत सरकारसँग आफूहरूले राख्दै आएको माग सम्बोधन गराउन रत्नपार्क घेर्ने भएका छन् । आफ्ना माग सम्बोधनका लागि सरकारले पहल नगरेको भन्दै दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले रत्नपार्क केन्द्रित विरोध कार्यक्रम गर्न लागेका हुन् ।

जसअन्तर्गत आगामी असार ३ गते रत्नपार्कस्थित शान्तिबाटिका घेर्ने कार्यक्रम तय गरेका छन् । त्यस्तै, काठमाडौंस्थित बेलायती राजदूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम पनि भूतपूर्व गोर्खा सैनिकहरूले अघि सारेका छन् ।

सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले दूतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिश–गोर्खा भूतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र पुनः बुझाउने जानकारी दिए । सिंगापुर प्रहरी सेवाबाट अवकाश प्राप्त गोर्खाहरुमाथि बेलायत र सिंगापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहेको उनको भनाइ छ ।

नेपाल सरकारसँग कुनै सन्धि, सम्झौताबिना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिंगापुरको भर्तीमा पठाएकोमा पनि उनीहरुको असन्तुष्टि छ । यसमा बेलायत, नेपाल र सिंगापुरमध्ये को जिम्मेवार छ भन्ने अन्यौलता रहेको उनीहरु बताउँछन् ।

सिंगापुर प्रहरीबाट अवकाश प्राप्त भूपु सैनिकलाई सिंगापुरका सैनिकसरह तलब, भत्ता, पेन्सनको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुको जोड छ ।

टिप्पणीहरू