श्रीलंकामा चरम आर्थिक संकट : ३ साता इन्धन बन्द
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए ।
संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५० करोड अमेरिकी डलर र आगामी छ महिनाको लागि इन्धन जोहो गर्न तीन अर्ब ३० करोड डलर आवश्यक पर्ने बताए ।
उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा उल्लेख गर्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् ।
उनले ग्यास आयात गर्न मासिक चार करोड डलर खर्च हुने र आगामी छ महिनामा ग्यासका लागि २५ करोड अमेरिकी डलर आवश्यक पर्ने बताए । आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने प्रधानमन्त्रीको भनाइ छ । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औंल्याए ।
परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणको निम्ति एकजुट भएर लाग्न प्रधानमन्त्रीले अपिल गरेका छन् । मुलुकको वर्तमान अवस्थाको समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा समेत रहेको पनि उनले बताए ।
त्यहाँको केन्द्रीय बैंकका अनुसार यो वर्ष श्रीलंकाको कुल गार्हस्थ उत्पादन ३ दशमलब ५ प्रतिशतले ऋणात्मक रहनेछ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले झनै डरलाग्दो प्रक्षेपण गरेको छ ।
कोषले श्रीलंकाको गार्हस्थ उत्पादन ६ दशमलब ५ प्रतिशतले ऋणात्मक हुने चेतावनी दिएको छ । युक्रेन युद्धको प्रभावका कारण अर्को वर्ष विश्वव्यापी अर्थतन्त्रको औसत राष्ट्रिय उत्पादन पनि घट्ने बताइएको छ ।
टिप्पणीहरू