धर्म र फोहोरको कुरा संसदमा, शिक्षामन्त्रीले आर्थिक लाभ लिएको भीम रावलको आरोप
काठमाडौँको सडकमा लामो समयदेखि उठ्न नसकेको फोहोरको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरुले उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् ।
आजको संसद बैठकमा एमाले सांसद भीमबहादुर रावलले सडकमा थुप्रिएको फोहोरको कारण संकटकालको अवस्था उत्पन्न हुनलाग्दा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो । ‘सरकार महानगरको काम हो भन्दै मौन छ, यता फोहोरको दुर्गन्धले संकटकालको अवस्था उत्पन्न हुँदैछ’, उहाँले भन्नुभयो ।
फोहोर व्यवस्थापन महानगरको मात्रै काम हो भनेर बेवास्ता नगर्न सरकारलाई सुझाव दिँदै रावलले अगाडि भन्नुभयो, ’महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो ठूल्ठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?’
यसअघि आजै एमाले सांसद नारायण खतिवडाले पनि काठमाडौँको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । हिजो सत्तापक्षका सांसद गगन थापालगायतले पनि काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै चासो दिनुपर्ने भन्नुभएको हो ।
सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकार आफैँ लागेको आरोप पनि लगाउनुभएको छ । पाठ्यक्रममा ‘ई’ भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भनेर लेखिएको भन्दै उहाँले शिक्षामन्त्रीलाई प्रश्न गर्नुभयो, ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न लगाउने शिक्षामन्त्रीले धर्म परिवर्तन गराउनेहरुबाट आर्थिक लाभ लिएको हुनसक्ने रावलको आशंका छ ।
‘मैले त बाल्यकालमा ई भनेको ईश्वर भनेर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कताबाट ईसा आयो ?’ रावलले शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराउनुभयो ।
’शिक्षा मन्त्रीलाई थाहा छ कि छैन ? संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइने छैन भन्ने लेख्ने, अनि भित्र कतैबाट फाइदा लिएर यस्तो गरेको त होइन ? जनतालाई यसको जवाफ दिनुपर्छ । कसरी पाठ्यक्रममा ईसा लेखियो ?’ आक्रोशित हुँदै उहाँले सोध्नुभयो ।
टिप्पणीहरू