१४ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, संयमित हुन प्रहरीको आग्रह
हिजो रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । हिजोरातिको वर्षाले विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध सडक १४ घण्टापछि सुचारु भएको हो ।
सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् । अहिले राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका–६, तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
आज दिउँसोदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । ‘अहिले पानी परेको छैन, पानी पर्ने बितिक्कै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन आग्रह गरिएको छ,’ प्रहरीले भनेको छ ।
टिप्पणीहरू