चिनियाँ डाक्टरले विद्यार्थीको मुटु परीक्षण गर्ने
भक्तपुर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो ।
पछिल्लो समय मुटु रोग मुलुकभर बढ्दो क्रममा रहेको अवस्थामा समयमै परीक्षण र उपचारमार्फत सम्भावित जोखिम वा रोग निको पार्ने उद्देश्यका साथ शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
मेयर सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले पुस ८ देखि ११ गतेसम्म शिविर चलाउने निर्णय गरेको छ । शिविरमा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुले विद्यार्थीको मुटु जाँच्ने नगरपालिकाले जनाएको छ ।
साथै, परीक्षणका क्रममा मुटुमा गम्भीर समस्या देखिने विद्यार्थीहरुको निःशुल्क उपचार पनि गरिने छ । भक्तपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा करिब ३६ जना विद्यार्थी रहेको अनुमान गरिएको छ ।
नगरपालिकाका अनुसार शिविरमा शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको मुटु जाँचिने छ । शिक्षा शाखा प्रमुख साधुराम फुयालले शिक्षा र स्वास्थ्य एउटै सिक्काका दुई पाटो भएकोले शिविरले बालबालिकामा ज्ञान प्रदानसँगै मुटु रोग रहे–नरहे यकिन गर्ने र भएमा समयमै उपचार गरी ज्यान बचाउन मद्दत पुग्ने बताए ।
टिप्पणीहरू