रोल्पामा आगामी चुनावको रन्को, भित्रभित्रै आफ्नो गुट र समूहको प्रचार

रोल्पामा आगामी चुनावको रन्को, भित्रभित्रै आफ्नो गुट र समूहको प्रचार

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक अभियानकर्मी डा. दीपेन्द्र भण्डारीलाई रोल्पाबाट संघीय चुनाव लड्न चौतर्फी दबाब बढेको छ । उनलार्य गृहजिल्ला रोल्पाबाट आउँदो प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न स्थानीय युवाहरूले आग्रह गरेका हुन् ।

‘डाक्टर–साप यसपटक रोल्पा जानैपर्छ । रोल्पाका मतदाताले उहाँ जत्तिको बौद्धिक मान्छेलाई जसरी पनि जिताउने छन् । रोल्पाको प्रतिनिधि बनाउन युवाहरू आतुर छौं,’ काठमाडौंमा अध्ययनरत रोल्पा माडीका एक युवाले भने ।

गंगादेव गाउँपालिका–२, रमाइँमा जन्मिएका डा. भण्डारी राष्ट्रियस्तरमा परिचित शीर्ष शैक्षिक अभियानकर्मी हुन् । प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेपछि उनले पार्टी नहेरेर चुनावी अभियानमा लाग्ने अखिल क्रान्तिकारीका एक नेताले बताए ।

‘रोल्पाका मतदाताले पटक पटक एउटै मुहानका धेरै नेतालाई चुनावमा जिताए । तर जिल्लाको विकास हुनै सकेन । यो पटक रोल्पाले बौद्धिक तथा सामाजिक अभियानकर्मीलाई रोज्ने छ,’ गंगादेवका युवा रविन भण्डारीले भने ।

त्यसो त एमाले महासचिव शंकर पोखरेलनिकट मानिने डा. भण्डारी स्वयम्ले भने अहिलेसम्म मुख खोलेका छैनन् । तर उनलाई रोल्पाबाट चुनाव लड्न आग्रह गर्दै दर्जनौं युवाले भेटिरहेका छन् । नेकपा (एमाले) रोल्पाका युवा नेता–कार्यकर्ताहरूले पनि डा. भण्डारीबारे आन्तरिक चर्चा थालिसकेको एमालेनिकट स्रोतले जनाएको छ ।

‘चुनावको मिति तोकिएको छैन । तर पनि आन्तरिक रुपमा पार्टीभित्र छलफल भइरहेको छ । सम्भवतः दीपेन्द्र कमरेड नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुहुनेछ,’ एमाले जिल्ला कमिटी रोल्पाका एक सदस्यले भने ।

डा. दीपेन्द्रलाई यसपटक जसरी पनि रोल्पा लैजानुपर्ने अर्का विद्यार्थी भीम वली बताउँछन् । उनले भने, ‘रोल्पाबाट भ्रष्टहरूले मात्रै चुनाव जितिरहेका छन् । उनीहरू पदका लागि मात्रै राजनीति गर्छन् । तर भण्डारी जत्तिको मान्छे रोल्पाबाट आउँदो चुनाव लड्नुपर्छ । यो रोल्पाली युवाको माग हो ।’

टिप्पणीहरू