प्रधानमन्त्री निवासको मुख्य प्रवेशद्वारमा ढल फुटेर बिजोग, सर्वसाधारणको मलमुत्र भीआईपी परिसरमा

प्रधानमन्त्री निवासको मुख्य प्रवेशद्वारमा ढल फुटेर बिजोग, सर्वसाधारणको मलमुत्र भीआईपी परिसरमा

प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारको मुख्य प्रवेशद्वारमा ढल फुटेर बिजोग भएको छ । निवासको १ नम्बर गेटको आडैमा फुटेको ढल उक्त ढोका भएर प्रधानमन्त्री निवासभित्र छिरेको हो ।

केही दिनदेखि निरन्तर परेको पानीका कारण ढल फुटेको बताइन्छ । अघिल्लो महिनादेखि प्रधानमन्त्री निवास अगाडिको सडक अवरुद्ध पारेर ढललाई प्रधानमन्त्रीको निवास हुँदै दक्षिणतर्फ लैजाने कार्यको थालनी भएको हो । यही बेला सबैको ढल मिसिएको ठूलो पाइप फुटेर प्रधानमन्त्रीको दैलौमै छरपष्ट भएको छ ।

पहिले किरियापुत्री बस्ने घर मासेर बनाइएको उक्त ढल अन्ततिर फर्काउन खोज्दा प्रधानन्यायाधीश निवास हुँदै लाजिम्पाट निस्किने सर्वसाधारण र सवारीसाधनवालाले महिना दिनदेखि दुःख पाइरहेका छन् ।

२०७२ सालको भूकम्पले हल्लाएपछि प्रधानमन्त्री निवासभित्रको मुख्य भवनलाई आधुनिक बनाइएको छ । अन्य संरचनासँगै मुख्य सचिवको आवास पनि त्यहीँभित्र बनाई त्यसलाई अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि प्रधानमन्त्रीद्वारा कब्जा गरिएको छ ।

प्रधानमन्त्री निवासको सुविधासम्पन्न नवनिर्मित भवनको उद्घाटन र पहिलो प्रयोग गत हिउँददेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न थाल्नुभएको छ । दुई वर्षमा निर्माण सम्पन्न तीनतले भवनमा आधुनिक सबै सुविधा उपलब्ध रहेको बताइन्छ । तर, अहिले त्यहि भवनको अघिल्तिरबाट खोलो झैं ढल बगेको छ ।

२२ कोठाको प्रधानमन्त्री निवासमा जिम हल, योगा हल र पूजा कोठासमेत छन् । ३३ करोड ८० लाख नेपाली रूपैयाँमा बनाइएका भवनमा ज्योतिषले वास्तु नमिलेको भनेपछि अघिल्लो महिनादेखि प्रधानन्यायाधीशको निवासभन्दा पछाडिको सडक बन्द गरेर ढलको नयाँ पाइप बिच्छाइएको छ ।

अहिले ढल फुटेको स्थान प्रधानमन्त्री निवासको १ नम्बर गेट भएको ठाउँमा पहिले सानो खोल्सा बग्थ्यो । क्वार्टर बन्नुअघि उक्त खोल्सोको मुहान शिवपुरी स्कुलदेखि दक्षिणको पाखोसम्म थियो । पछिसम्म पनि बर्खामा तर्न नसक्ने पानी बग्ने उक्त खोल्सोलाई पुरेर प्रधानमन्त्री निवास बनाइएको स्थानीयहरु बताउँछन् ।

‘अहिले १ नम्बर गेट भएको ठाउँमा पहिले किरियापुत्री बस्ने भवन थियो । यो एरियाका मानिसलाई किरिया बस्ने पाटी नै बनाइएको थियो । तर पछि ती सबै मासिए, ’ स्थानीयले भने, ‘अहिले त्यही खोल्सो मासेर बनाइएको ढलमा सर्वसाधारणको मलमुत्र बग्छ ।’

त्यही मलमूत्रलाई प्रधानमन्त्री निवास अघिल्तिरको आँगनबाटै ढल हालेर दक्षिणतर्फ पर्खाल बाहिर लैजाने योजना बनाइयो । बर्खामा आउने ठूलो भेल पनि त्यही ढल भएर बग्नुपर्ने भएकाले अहिले ढल फुटेर बिजोग भएको हो ।

उक्त ढललाई कम्पाउण्डबाट बाहिर लैजान ज्योतिषले सल्लाह दिएपछि प्रधानमन्त्री निवासको ढललाई समेत १ नम्बर गेटबाट बाहिर निकालिएको हो । ढललाई प्रधानन्यायाधीशको क्वार्टर हुँदै दक्षिणमा खोलिएको नयाँ बाटोबाट मुख्य सचिवको निम्ति बनाइएको भवन नजिकै पुर्याउन खोजिएको छ ।

उक्त कार्यमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ । तर, आफ्नो मात्रै होइन सर्वसाधारणको समेत ढल छिरेपछि बालुवाटारमा तनाव थपिएको हो ।

टिप्पणीहरू