अर्थ मन्त्रालयमा किन एक्लै जानुभयो गभर्नर ?
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हिजो बिहान एकाएक अर्थ मन्त्रालय पुग्नुभयो । गत चैत अन्तिम साता अधिकारीलाई पदबाट हटाउन खोजेपछि सरकार र विशेषगरी अर्थ मन्त्रालय नेतृत्वसँग उहाँको सम्बन्ध थप तिक्ततापूर्ण भएको हो ।
झण्डै दुई साताको निलम्बनपछि उहाँले सर्वोच्च अदालतको आदेशमा पद बहाली गर्नुभयो । सर्वोच्चको आदेशले स्वयम् अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै अप्ठेरो पारेको अवस्थामा उहाँ औपचारिकताको निम्ति अर्थ मन्त्रालय छिर्नुभएको थियो ।
झण्डै आधा घण्टा मन्त्रीको कार्यकक्षमा बस्नुभएका गभर्नरसँग शर्माले आँखा जुधाएर कुराकानी गर्न नसकेको त्यतिबेलै मन्त्रालयका ठूलाबडा कर्मचारीले गाईंगुईं गरेका थिए । त्यसपछि जेठ १६ गते अघिल्लो दिनको बजेट भाषणपछि आयोजित पत्रकार सम्मेलनमा पनि गभर्नर अधिकारी मन्त्रीको दायाँतर्फ गएर बस्नुभएको हो । तर, उहाँले त्यो दिन पनि केही बोल्नुभएन ।
हिजो गभर्नर महाप्रसाद अर्थ मन्त्रालय जानुलाई सबैले बैंकको आगामी मौद्रिक नीतिसँग जोडेर व्यख्या गरेका छन् । पुँजीबजारका खेलाडीहरुले मन्त्री र प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेको सन्दर्भमा हिजो अर्थ मन्त्रालयमा भएको अर्थमन्त्री र गभर्नरको भेटलाई पनि त्यसैसँग जोडेर हेरिएको हो ।
तर, दुई जना डेपुटी गभर्नर र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकलाई समेत साथमा नलिएर त्यता गएपछि सबैले मन्त्रीसँग गोप्य वार्ता गर्न अधिकारी सिंहदरबार छिरेको भनेर हल्ला चलाए । हिजो बैंकको केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि सञ्चालक समितिको बैठक बसेको थियो । बैठक साढे ९ बजे सकिएपछि अरुले झैँ गभर्नरले पनि हिजो बिहानको दाल भात कार्यालयमै खानुभएको एक जना कर्मचारीले बताए ।
डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले भने एकाबिहानै हेपाली हाइटस्थित घरमै मकैको च्याँख्ला र फर्सिको मुन्टाको तरकारी खाएर आएको हुँदा कार्यालयमा भात नखाएको बताइन्छ । रगतमा चिनीको मात्रा बढेपछि पछिल्लो केही वर्षदेखि निलमले बिहान ४ बजेदेखि योगा, व्यायाम गर्ने र बिहान च्याँख्ला खान थालेको पारिवारिक स्रोतको दाबी छ ।
यता गभर्नर अधिकारी बिहान सवा १० बजेतिर खाना खाएपछि लुसुक्क कार्यालयबाट बाहिर निस्कनुभयो । उहाँ पौने ११ बजे अर्थ मन्त्रालय पुगेको त्यहाँका कर्मचारीले बताए । सरासर अर्थमन्त्रीको कार्यकक्ष बाहिर गएपछि उहाँ केहीबेर अडिनुभयो । मन्त्री र गभर्नरबीच करिब आधा घण्टा वार्तालाप भएको थियो । त्यसपछि उहाँ त्यहाँबाट सोझै बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुग्दा मध्यान्ह १२ बजेको थियो ।
गभर्नर अधिकारी किन अर्थ मन्त्रालय जानुभयो, के कुरा गर्नुभयो भन्नेबारे अरुभन्दा धेरै चासो दुई जना डेपुटीलाई परेको बताइन्छ । अधिकारीलाई सरकारले बेफ्वाँकमा निलम्बन गर्नुमा एक जना डेपुटीको चुक्ली लगाउने ‘खराब बानी’ प्रमुख कारक रहेको यथार्थ बाहिर आएपछि पछिल्ला दिनमा गभर्नरले उनीहरुलाई आवश्यकताभन्दा बढी नजिक्याउन पनि छाड्नुभएको छ ।
हिजो अर्थ मन्त्रालयबाट फर्कनुभएका गभर्नर अधिकारी आज दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ घटिमा ५ दिन र बढीमा ७ दिनको बिदा स्वीकृत गराएर त्यसतर्फ जानुभएको हो । अधिकारी श्रीमतीको उपचारपछि ‘फलोअप’ मा जानुपर्ने भएकाले आज त्यसतर्फ गएको स्रोतको दाबी छ ।
नयाँ दिल्लीको गुरुग्रामस्थित मेदान्त अस्पतालका चिकित्सकहरुले गत महिना नै फलोअपको निम्ति आउन भने पनि श्रीमती अधिकारी गभर्नरको निलम्बन र डाक्टर छोरीको बिबाहको कारण केही दिन ढिलो उता गएको पारिवारिक स्रोतले बताएको छ । गभर्नरले मुलुकबाहिर जाँदा मन्त्रीस्तरीय निर्णय गराएर बिदा स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ । मन्त्रीसँग ‘ट्युनिङ’ मिलेको बेलामा सामान्य तहका कर्मचारीबाट हुने त्यस्ता झिनामसिना प्रशासनिक कार्यको निम्ति अहिले स्वयम् गभर्नर मन्त्रालय जानु परेको हो ।
यता, नियुक्त भएको १५ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानमा बसेर विदेश जान नपाएका डेपुटीहरुले ‘साँढेको जुधाई बाच्छाको मिचाइ’ भएको गुनासो गरेको बताइन्छ । डेपुटीहरुको विदेश भ्रमण र बिदा स्वीकृति पनि मन्त्रीबाटै हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेको अवस्थामा विदेशी मुद्रा सञ्चितिमा असर नपार्ने भनिएकाले विदेश भ्रमणको फाइल बोकेर जाँदा गभर्नर स्वतः कोपभाजनमा पर्ने भएकाले पनि डेपुटीहरु अरु विदेश उडेको हेर्न बाध्य भएका हुन् ।
भलै बैंकका केही विशिष्ट श्रेणीका कर्मचारीले यसबीचमा मास्क लगाएर भए पनि विदेश भ्रमण गरेका छन् । बैंकका कर्मचारीको बिदा र विदेश भ्रमण गभर्नरले स्वीकृत गरे पुग्छ । अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध सुमधुर नभएसम्म र कोभिडको असर निमिट्यान्न नभएसम्म डेपुटीहरुले विदेश गर्ने सम्भावना क्षीण भएको मन्त्रालयका एक जना सहसचिवले बताए ।
‘यसरी बुद्ध एअरमै चित्त बुझाउनुपर्ने दिन आउँछ भन्ने थाहा पाएका भए सम्भवतः उनीहरुले विशिष्ट श्रेणीको कार्यकारी निर्देशकमै रजगज गर्थे,’ उनले भने ।
टिप्पणीहरू