काठमाडौंको फोहोर उठाउन अर्को १८ बुँदे सम्झौता
महिनौंदेखि उठ्न नसकेको काठमाडांै महानगरपालिका र उपत्यकाको फोहोर हिजो भएको सम्झौतापछि उठ्ने विश्वास गरिएको छ । महानगर र ल्याण्डफिल साइट प्रभावित क्षेत्रका प्रतिनिधिहरुबीच १८ बुँदे सहमति भएपछि फोहोर उठ्ने वातावरण बनेको हो ।
काठमाडौं महानगरका प्रमुखलगायत नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका सम्बन्धित वडाध्यक्षहरुले उक्त सहमति गरेका हुन् । सहमति पत्रमा महानगरको तर्फबाट मेयर बालेन साहसहित उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि हस्ताक्षर छ ।
प्रभावित क्षेत्रबाट ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्षद्वय पदमबहादुर श्रेष्ठ बलामी र तिलक बहादुर लामा, धुनिवेशी नगरपालिका १ र ३ बाट क्रमशः श्रीमान् बहादुर तामाङ्ग र प्रकाश हमालको हस्ताक्षर छ ।
सिसडोल बञ्चरेडाँडा–कुँडुलेसम्म फोहोर लैजाँदा रातको सममय लैजाने र उक्त ठाउँमा सडक बत्तिलगायत पूर्वाधार तीन महिनाभित्र महानगरले निर्माण गर्ने भनिएको छ । फोहोर बिसर्जन गरिएको स्थानबाट दुर्गन्ध नफैलियोस् भन्नाको निम्ति एक महिनाभित्र व्यवस्थापन गर्ने बताइएको छ । फोहोरबाट निस्किएको तरल फोहोरलाई स्थानीय खोलामा नमिसाउने सहमति गरिएको छ ।
साथै फोहोर व्यवस्थापनमा खटिने चालक, सहचालक लगायतको स्वास्थ्य बिमा गर्ने र स्थानीयलाई फोहोरको कारण कुनै रोग लागेमा महानगरका स्थानीयले पाएको सेवा सरह स्वास्थ्य सुविधा पाउने उल्लेख छ । स्थानीयको जीवनस्तर, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा महानगरले विशेष पहल गर्ने भनिएको छ ।
बञ्चरेडाँडा वरपरका हटाइएका टहराको स्थानीयलाई महानगरले तीन महिनाभित्र क्षतिपूर्ति दिने, तिनपिप्ले–गल्छी वैकल्पिक राजमार्गको निम्ति नेपाल सरकारलाई अनुरोध गर्ने र यसअघि फोहोर व्यवस्थापनको हकमा भएका सबै खालका प्रतिबद्धता कार्यान्वयनमा ल्याउने निर्णय सार्वजनिक भएको छ ।
आजदेखि फोहोर बोेकेका गाडीलाई निर्वाध रुपमा आवातजावत गर्न दिने निर्णय पनि लिखित रुपमा गरिएको छ ।


टिप्पणीहरू