केपी ओली पूर्वमा बोलेपछि सभामुखको गृहजिल्लाबाट आयो अर्कै खबर

केपी ओली पूर्वमा बोलेपछि सभामुखको गृहजिल्लाबाट आयो अर्कै खबर

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम सहकार्यको सम्भावना नरहेको प्रतिक्रिया दिएलगत्तै सिन्धुपाल्चोकमा एमाले र माओवादीबीच जिल्ला समन्वय समिति गठनमा मिलेर जाने सहमति भएको छ । दुई पार्टीले बकाइदा सहमति पत्रमा हस्ताक्षर गरेर जिससको चुनावमा साझा उम्मेद्वारी दिने निर्णय गरेका हुन् ।

नेपाली काँग्रेसले एकीकृत समाजवादीसँग गठबन्धन गरेपछि भड्किएको माओवादी र सत्ता गठबन्धनका कारण स्थानीय चुनावमा अकल्पनीय क्षेती व्यहोरेको एमाले अन्तत: एक ठाउँमा आइपुगेका हुन् । कांग्रेसले भने समाजवादीलाई उपप्रमुख र एक सदस्य दिएर बाँकी पद एक्लै लिने गरि सहमति गरेको छ ।

सिन्धुपाल्चोकमा जिससको चुनाव आइतबार हुँदैछ । १२ स्थानीय तह रहेको जिल्लामा जिससको २४ मतमध्ये कांग्रेस १२, एमाले सात, माओवादी केन्द्र चार र एकीकृत समाजवादीको एक भोट छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन् । बहुमत पुर्याएर जिसस गठन गर्न १३ मत आवश्यक हुन्छ ।

तर, कुनै पनि दलसँग एक्लै बहुमत पुग्ने मत छैन । त्यसैले गठबन्धन गर्नैपर्ने बाध्यता भएकाले स्थानीय चुनाव मिलेर लडेका गरेका कांग्रेस र माओवादीबीच तालमेल हुने अनुमान धेरैको थियो ।

तर, त्यसविपरित माओवादी र एमाले मिलेका हुन् । दुई पार्टीले जिसस गठनमा मात्र नभई वामपन्थी मतको रक्षा र दीर्घकालीन महत्वलाई समेत ध्यानमा राखेर यो गठबन्धन बनाएको दाबी गरेका छन् ।

माओवादीका सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द प्रसाद पराजुली र एमाले अध्यक्ष कमल प्रसाद नेपालद्वारा जारी विज्ञप्तिमा मुलुकमा वामपन्थी एकताको माग बढ्दै गएको सन्दर्भमा जिससको चुनावमा मिलेर जानु उपयुक्त हुने उल्लेख छ ।

रमाइलो कुरा चैं, सिन्धुपाल्चोक सभामुख अग्नि सापकोटाको गृहजिल्ला हो । एमालेले संसदमा गरेको एक वर्ष लामो अवरोध सापकोटा केन्द्रित थियो । जसका कारण केन्द्रीय राजनीतिमा दुई पार्टी तथा सभामुख र एमालेबीच तिक्ततापूर्ण सम्बन्ध रहेका बेला जिल्लाका नेताहरुले भने सहकार्यको हात अघि बढाएका हुन् ।

टिप्पणीहरू