समाजवादीकी मीनाः एक्लो बनाइयो किन ?
स्थानीय तहको निर्वाचन २०७९ मा एमालेले ‘बेहैसियत’ ठानेको नेकपा एकीकृत समाजवादीकी नेता मीनाकुमारी लामालाई गठबन्धनले हेटौँडा उपमहानगरपालिकाको मेयर बनाइदिएपछि एमालेलाई आपत परेको छ ।
आफूबाट छुट्टिएर गएको पार्टीका मान्छे एकाएक शक्तिशाली बनेपछि ‘मुड अफ’ बनेको एमालेले पहिलो कार्यपालिका बैठकमै उनलाई असहयोग गरेको छ । पहिलो बैठकमै अनुपस्थित भएपछि रोकिएको कार्यपालिका बैठकलगत्तै मेयर लामाले कार्यविधिअनुसार बैठक अघि बढाउने गरी दोस्रो बैठक आह्वान गर्दा भने एमाले उपस्थित भयो ।
कार्यपालिका बैठक सञ्चालन कार्यविधिमा निरन्तर ३ पटकसम्म कार्यपालिका सदस्यहरू अनुपस्थित भएमा कूल संख्याको २५ प्रतिशत सदस्य उपस्थितिलाई पनि आधिकारिकता मानिएको छ । हेटौँडामा समाजवादीको नेतृत्व र नेपाली कांग्रेसको सह नेतृत्वमा कार्यपालिका छ ।
तर, बहुमत भने नेकपा एमालेको छ । ‘बहुमतको दम्भ देखाएर एमालेले असहयोग गरे त्यसको पनि उपाय सोचिन्छ’, एक कार्यपालिका सदस्यले भने–‘तर, पाँच वर्षे अवधिलाई सहमति, सहकार्यमा अघि बढ्नुपर्ने कुरामा हामी दृढ छौँ ।’
दोस्रो पटक बोलाइएको बैठकबाट प्रदेश सरकारको भवन निर्माण गर्नका लागि वडा नं ६ र १६ मा जग्गा उपलब्ध गराउने, भूमि व्यवस्थापन शाखामा काम गरिरहेका करारका कर्मचारीको अवधि थप्नेलगायत निर्णय भएका छन् । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेका जिल्ला कमिटी सचिव नवीन सिग्देल नै कार्यपालिका सदस्य छन् ।
उनी ४ नं वडाबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुन् । स्रोतका अनुसार एमालेले असहयोग गर्नुको कारण विभिन्न समितिमा एमालेले मागेको नेतृत्व पनि हो । त्यसो त विषयगत समिति गठन भए पनि एमालेले विवादका कारण सदस्यहरूको नामावली कार्यपालिकामा बुझाउन सकेको छैन । समाजवादीका तर्फबाट भने कार्यपालिकामा मेयर लामासहित ९ नं वडाध्यक्ष शुकराम केसी छन् ।
मेयर लामा सबैसँग सहयोग, समन्वय, समझदारीका साथ अघि बढ्ने र मत बहुमतको आधारमा कोही पनिअघि बढ्न नहुने बताउँछिन् । यता माओवादी केन्द्रको हेटौँडा उपमहानगरपालिका कमिटीले ३ जना सचिवालय सदस्यलाई कारबाही गरेको छ ।
जेठ २० र २१ गते बसेको बैठकले निर्वाचनमा पार्टी हितविपरीत गतिविधि गर्ने हेटौँडा १७ का शंकरबहादुर राउत, १० नं वडाका इञ्चार्ज सन्तोष न्यौपानेलाई पार्टीबाट निकालेको हो । पूर्व पत्रकारसमेत रहेका न्यौपाने वडाध्यक्षका उम्मेदवार पनि थिए । त्यसैगरी गीता कार्कीले पार्टी परित्याग गरेकीले उनलाई पनि साधारण सदस्य नरहने गरी हटाइएको नगर कमिटी अध्यक्ष तीर्थ थापा मगरले बताए ।
टिप्पणीहरू