विमान दुर्घटनापछि सधैँ मृत पाइलट नै दोषी ?
– मनोजकुमार कर्ण
अघिल्लो आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसारमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित सबै २२ जनाको ज्यान गयो ।
यस्तो घटनापछि विमानभित्र रहेको ‘ब्ल्याकबक्स’ लाई आधार मानेरै अनुसन्धान प्रतिवेदन तयार पार्ने गरिन्छ । तर नेपालमा अहिलेसम्म भएका विमान दुर्घटनापछिको छानबिनमा यस्तै तरिकाले निश्कर्ष निकालिएको भने पाइन्न । प्रायः दुर्घटनामा मौसम र मृत पाइलटको मात्र दोष देखाइएको हुन्छ । किनभने ती दुवै बोल्न सक्ने अवस्थामा हुँदैनन् ।
तर बाँकी जीवित यात्रु, नागरिक समाज, प्राविधिक, वायुसेवा निगमका कर्मचारी, सम्बन्धित हाकिम, भ्रष्ट कार्यमा सक्रिय राजनीतिक दलका नेता तथा सत्तारूढ दलप्रति कहिल्यै औंला उठाउँदैनौं । यसो भन्दा नभन्दै अर्काे दुर्घटना भइसक्छ । प्रश्न छ– के नेपाल वायुसेवा निगम आफैंले मेन्टिनेन्स निर्देशकबाट तोकिएको अवधिपछि जहाज थोत्रो हुँदा कम्पनीमा लगेर ओभरहेलिङ गराउँछ ?
यो मेरो कोरा आरोप मात्र होइन, राजा ज्ञानेन्द्र शाह सक्रिय रहेको बेला ०५८ देखि ०६० सालबीच यतिलगायत विभिन्न एयरलाइन्सका विमान दुर्घटनाको समयमै आएको गुनासो हो । त्यतिबेला आरोपित सबै कर्मचारी निलम्बनमा परेर जागिर खोसिएको थियो । गद्दीबाट हट्ने बेला दरबारका पनि केही व्यक्ति सो काण्डमा मुछिएका थिए । तिनलाई जोगाउन दरबारले चलखेल गर्दा अन्य पनि ‘बेकसुर’ भई जोगिए ।
सो बेलाका निलम्बित डीजी (जनकपुर–गुसिंगाल निवासी पछि पुनर्बहाली भई जीएम पनि बने । पुनः भ्रष्टाचारमा मुछिएर अवकाशसमेत भइसकेका छन् । अहिले फेरि उनै व्यक्ति तारा एयरको विमान दुर्घटनामा बनाइएको छानबिन समितिको सदस्य छनोट भएका छन् ।
विमानस्थलका जीएम र डीजीहरूले कोशेली लिएर निजी क्षेत्रका निकै पुराना विमानलाई पनि ‘उडान इजाजत÷म्याद’ थप्ने गरेको विषय नेपालको सन्दर्भमा ‘ओपन सेक्रेट’ नै हो । त्यसो त सबै कर्मचारी भ्रष्ट, अनैतिक होइनन् र हुँदैनन् पनि । यदि, साँच्चिकै अनुसन्धान गरियो भने पहिलेका रिपोर्टमाथि शंका गर्नुपर्ने हुन्छ ।
भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सिडिएस अर्थात्, जल–थल–वायु सेनापतिका पनि प्रमुख) जनरल विपिन रावतको केही महिनाअघि हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यहाँको छानबिन समितिमा रहेका वायुसेवा निगम, सेना, पुलिस, अदालतलगायत धेरै वटा एजेन्सीका प्रतिनिधिले फरक ढंगले प्राविधिकसहितको टिमबाट हालसम्म अति सूक्ष्म अनुसन्धान गरिरहेका छन् ।
त्यहाँ केवल वायुसेवा निगमको प्रतिवेदनका भरमा मुलुक चुप लागेर बस्दैन ! नेपालमा संसदीय समिति, अदालत वा गृह मन्त्रालय, मानवाधिकारलगायत प्राविधिकसहितका छुट्टै टीम कुनै जहाज दुर्घटना हुँदा किन गठन हुँदैन ? किन सधैँ वायुसेवा क्षेत्रको मात्र हमेशा टिम बनाइन्छ ? विश्वमा धेरै देशमा पहाडी भूगोल तथा समुद्रीतट वा प्रतिकूल मौसम भए पनि नेपालमै सबभन्दा बढी विमान दुर्घटना किन हुन्छ ?
छानबिन समिति नेपालमा सत्यतथ्य कुरा दिनलाई गठन गरिन्छ कि दुर्घटनामा परेको जहाजमा संलग्न जीवित मालिक तथा हाकिमलाई चोख्याउनलाई ? उपल्लो तहको कारबाही गर्न किन सकिँदैन ? किनकि अति सर्वत्रवर्जयेत् अर्थात्, जे पनि धेरै भयो भने त्यो खराब लाग्छ, त्यसले क्षति पु¥याउँछ अनि पटक पटक भ्रष्टाचारीले पद बेच्ने अनि अयोग्यहरूले पटक–पटक मान्छे मारिरहने क्रम जारी रहन्छ ।
टिप्पणीहरू