इन्धनको भाउ बढेपछि वैद्यका विद्यार्थी रिसले चुुर

इन्धनको भाउ बढेपछि वैद्यका विद्यार्थी रिसले चुुर

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सरकारले पटक–पटक इन्धनको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै क्रान्तिकारीले तत्काल निर्णय सच्याउन माग गरेको हो ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आज विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले जनतालाई आफ्नो जीवन धान्नै मुस्किल परेको बताए । उनले सरकार र नेपाल आयल निगमविरुद्ध आन्दोलनको चेतावनी पनि दिएका छन् ।

सरकारको गैरजिम्मेवारीपनले मुलुकलाई थप अस्थिरता र अस्तव्यस्ततातिर धकेलेको गजुरेलको आरोप छ । हप्तैपिच्छे इन्धनको भाउ बढेकाले दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य छोइनसक्नु भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ‘देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । यसले आगामी दिनमा नेपाल गम्भीर संकटको भूमरीमा फस्ने र विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ ।‘

देशमा रोजगार नपाएर ७० लाखभन्दा बढी युवाहरु विदेश जानुपर्ने बाध्यता रहेको भन्दै सरकार यसप्रति गम्भिर नभएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ बढाएर १७८ रुपैयाँ प्रतिलिटर पुयाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ पुगेको छ ।

टिप्पणीहरू