बलात्कारको आरोप लगाउन किन यति सजिलो ?

बलात्कारको आरोप लगाउन किन यति सजिलो ?

नेपालमा महिलामात्र पीडित र पुरुषचाहिँ पीडक हुन्छन् भन्ने आम मान्यता छ । मुलुकी संहिताअनुसार जबरजस्ती करणीका मुद्दामा महिला र नाबालिका मात्र पीडित हुने गरेका छन् तर वास्तविकतामा पुरुष पनि पीडित भएका केही उदाहरण छन् ।

यौनहिंसाविरुद्ध संशोधित ऐन २०७७ मा झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुरदारले पाउने भन्दा न्यूनतम सजायँँको आधा सजायँँ गर्ने भनिएको छ । तैपनि, झुटा उजुरी दिनेको संख्यामा कमी आएको छैन । ललितपुर जिल्ला अदालतमा मात्रै ०७८/७९ मा ४५ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । तीमध्ये यस्ता थुप्रै मुद्दा देखिए, जसमा जबर्जस्ती करणी गरेको साबित हुन प्रमाण र आधार नपुगेको भन्दै आरोपितलाई सफाइ दिइएको छ ।

घटना १ : गत असार १३ गते ललितपुर मनपा–२८ हरिसिद्धिमा दुवै पक्षबीच सहमतिमै यौनसम्पर्क भयो । पति विदेशमा रहेका र १ छोराकी आमा २४ वर्षीया (परिवर्तित नाम सातदोबाटो १२९) र रामेछाप खाँडादेवी–१ घर भई धापाखेल बस्ने २३ वर्षीय अनोज माझीले आपसी समझदारीमै सम्पर्क स्थापित गरे । दोस्रो पटक सम्बन्ध राख्ने बेला पीडितको भाइले देखेकाले प्रहरीमा जाहेरी दर्ता भयो तर बकपत्र दिने बेला आफ्नो बयान फेरिन् । सहमतिमै सम्पर्क भए पनि समाजको डरले जाहेरी दिन बाध्य भएको उनको भनाइ थियो । मुद्दा नं. ०७७–सी १–०३३६ अन्तर्गत दर्ता भएको सो घटनामा न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ०७८ साउन २८ गते आरोपितलाई सफाइ दिएको छ ।

घटना २ : मुद्दा नं ०७६–सी१–०३३६ अन्तर्गत दर्ता भएको घटनामा पैसाको कारण देखिन्छ । काभ्रे बेथानचोक–३ स्थायी घर भई काठमाडौं गोकर्णेश्वर–१५ बस्ने १९ वर्षीया (परिवर्तित नाम जावलाखेल २८) ले आमा बिरामी भएको भन्दै प्रतिवादी म्याग्दी राखुपिप्ले–४ घर भई हाल नख्खु बस्ने ४१ वर्षीय रामकुमार मल्लसँग पटक–पटक पैसा लिएपछि जबर्जस्ती करणीको आरोप लगाइन् । सहमतिमै भएको शारीरिक सम्बन्धलाई पनि जबरजस्ती करणीको नाम दिएकी उनले पनि घरपरिवारको दबाबमा आएर जाहेरी दिएको बताएकी थिइन् ।

पीडितका अनुसार एकपटक मात्र नभई बारम्बार उनीहरूबीच शारीरिक सम्बन्ध भइसकेको थियो । सोही बयान र प्रयोगशालाको प्रमाणलाई आधार बनाएर न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०७७ मंसिर १६ गते काठमाडौं उपत्यकाका घरहरूमा अर्डरअनुसार रंगरोगन गर्ने मल्ललाई सफाइ दिएको हो ।

घटना ३ : यो बलात्कारको घटना सुन्दा निकैलाई अचम्म लाग्न सक्छ । पाँच जना साथी सुतेको एउटै कोठामा दुई जना स्कुले विद्यार्थीबीच भएको शारीरिक सम्बन्धबारे कसैले अत्तोपत्तो पाउँदैन । ललितपुर जिल्ला अदालतको मुद्दा नं ०७५–सी१–०३३६ मा दर्ता भएको घटना उही प्रकृतिको छ । मकवानपुर चित्लाङ–६ घर भई हाल कुलेश्वर काठमाडौं बस्ने आफ्नो साथी छिरिङ डोल्पा लामाको बर्थ डे पार्टीमा गएका बेला आफ्नै कक्षामा पढ्ने साथीले जबरजस्ती गरेको पीडितको आरोप छ ।

टेकुको सरस्वती निकेतनमा ९ कक्षा पढ्ने साथीको जन्मदिनमा ०७६ जेठ १३ गते कालिमाटीको टिएनटी क्याफे गएको र केही मात्रामा मदिरा सेवन गरेको जाहेरवाला परिवर्तित नाम वृत्त कालिमाटी (४४) ले दिएको बयानमा उल्लेख छ । राति ढिलो भइसकेको हुँदा आमाको डरले साथीको कोठामा ५ जना सुतेको र सोही रात आफूमाथि बलात्कार भएको जाहेरवालाले बताएकी छन् ।

त्यसको भोलिपल्ट सानेपास्थित गेष्टहाउसमा बसेको भनिएको छ । दिदीको नाता पर्नेले आमा बिरामी हुनुभएको बताएपछि आफू फर्किन तयार भएको पीडितले बयान दिएकी छन् । घरबाट सोधपुछ भएपछि प्रतिवादी वृत्त कालिमाटी २६ (४६) ले गर्भवती हुने डरले सबै कुरा खुलस्त पारेको उनको भनाइ छ । यता, प्रतिवादी वृत्त कालिमाटी २६ (४६) ले आफूले जबरजस्ती करणी नगरेको जनाएका छन् । उनका अनुसार दुवैबीच पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको र सहमतिमै शारीरिक सम्बन्ध भएको हो ।

तर, न्यायाधीश महेन्द्रबहादुर कार्कीको बन्द इजलासले सहमतिमै शारीरिक सम्बन्ध भए पनि नाबालिग भएकाले जबरजस्ती करणी भएको ठहर गर्दै ०७६/८/१५ गते १८ वर्षको सट्टा १२ वर्ष कैद सजायँ हुने फैसला सुनाएको छ । ‘एउटा घटनालाई हेरेर बनाएको कानुनले विकृति ल्याउने त भइहाल्यो’ एक जना वरिष्ठ अधिवक्ता भन्छन् ।

सबै जना थितिमा बसुन् भनेर बनाइएको कानुनले थप बेतिथि ल्याउनु हुन्न । केही घटनाबाट तरंगित भएर समग्र समाजलाई प्रभाव पर्ने गरी, दीर्घकालीन असर नहेरी हतारमा कुनै पनि निर्णय गरिनुहुन्न । निश्चय नै पीडित हुनेमा महिला बढी छन् तर एकाध त्यस्तै महिलाका कारण पुरुषलाई मात्रै पीडित बनाइनु हुन्न भन्ने कोणबाट पनि कुरा उठ्नु जरुरी देखिन्छ ।

टिप्पणीहरू