नयाँ वर्ष लागेदेखि रेडियो नेपालका कर्मचारीले तलब देखेनन्

नयाँ वर्ष लागेदेखि रेडियो नेपालका कर्मचारीले तलब देखेनन्

मुलुककै जेठो समाचार संस्था रेडियो नेपालका कर्मचारी तलबविहीन भएका छन् । विगत सात दशकदेखि सञ्चालनमा रहेको राज्य नियन्त्रित रेडियो नेपाल आफ्ना कर्मचारीलाई दुई महिनादेखि तलब दिन असमर्थ भएको हो ।

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल कर्मचारी संघ, नेपाल प्रेस युनियन रेडियो नेपाल शाखा, रेडियो नेपाल स्वतन्त्र टेक्निकल एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् ।

‘न्यूनतम तलबसमेत दिन नसकेको स्वीकार्दै नेपालको जेठो प्रसारण संस्था रेडियो नेपालको समस्याको दीर्घकालीन समाधान निम्ति सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरी सबैमार्फत् स्वेच्छिक अवकाश योजना ल्याउन अपरिहार्य रहेकाले यो प्रक्रिया तत्काल अपनाउन सम्बन्धित सबैमा आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

रेडियो नेपाल कर्मचारी सेवाशर्त नियमावली २०७७ लागु भएपछि संस्थामा कार्यरत कर्मचारीले यसअघि पाउँदै आएको सेवासुविधा कटौती भएको विज्ञप्तिमा उल्लेख छ ।

२०५७ मा कर्मचारीहरुको रेडियो नेपालको सेवामा प्रवेश गर्दाका बखत लागु भएका कतिपय व्यवस्थालाई नयाँ नियमावलीमा हटाइएको छ । सो विषयमा सम्बोधनसमेत नगरेको अवस्थामा दुई महिनादेखि तलब दिन नसक्नु लाजमर्दो विषय भएको उनीहरुले जनाएका छन् ।

साथै, उनीहरुले तत्काल तलब उपलब्ध गराउन रेडियो नेपाल व्यवस्थापनसँग माग गरेका छन् ।लामो समयदेखि करार, दैनिक ज्यालादारी, सिफ्ट विशेषलगायत कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने निर्णय तत्काल सुरु गर्न र एकपक्षीय रुपमा ल्याइएको करार निर्देशिका तत्काल संशोधन गर्न जोड दिइएको छ ।आगामी दिनमा पनि ती कार्यमा सुधार नभए संघर्षमा जाने चेतावनी दिइएको छ । समस्त कर्मचारीले पाउनुपर्ने सेवा सुविधाको सुनिश्चितताको लागि संरचना परिवर्तन नै एकमात्र समाधान भएको पनि उनीहरुको ठम्याइ छ ।

टिप्पणीहरू