गएरातिको भुईंचालो ५५ हजारमध्ये एक

गएरातिको भुईंचालो ५५ हजारमध्ये एक

शनिबार राति साढे २ बजे राजधानी काठमाडौं उपत्यका र वरपरका जिल्लामा लामो समयपछि भूकम्पको ठूलै धक्का महशुस गरियो । राति सबै जना मस्त निन्द्रामा भएको बखत गएको भुईंचालो त्यति शक्तिशाली थिएन । तर, रातको समयमा भएकाले सबैले ठूलो महशुस गरेका हुन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो भूकम्प ४.६ म्याग्निट्युडको थियो । भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण क्षेत्र आसपास रहेको बताइन्छ । केन्द्रले आजको भूकम्पलाई पनि सात वर्षअघि २०७२ वैशाख १२ गते गएको बारपाक केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पको परकम्प भनेको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको उतिबेलाको भूकम्प ७.८ म्याग्निट्यूडको थियो । विज्ञहरुले परकम्पले जमिनमुनी जम्मा हुँदै गएको शक्ति बाहिर निस्किन खोजिरहेको संकेत गरेको बताएका छन् । राजधानी काठमाडौं वरिपरिको भूभागमुनि जम्मा भएको त्यस्तो शक्तिले जोखिम नटरिसकेको देखाउँछ ।

गए राति महशुस गरिएका जस्तै परकम्पहरू आगामी एक दशकसम्म जान सक्ने विज्ञहरु बताउँछन् । गोरखा भूकम्पछि हालसम्म ५५ हजारभन्दा बढी परकम्प गएका छन् । तीमध्ये मानिसले महशुस गरेका पाँच सय बढी मात्र छन् । ३ रेक्टर स्केलभन्दा कमको भुईंचालो मानिसले अनुभव गर्दैनन् ।

टिप्पणीहरू