एमाले अध्यक्ष नेकपा एकीकृत समाजवादीको कार्यालय नजिकै

एमाले अध्यक्ष नेकपा एकीकृत समाजवादीको कार्यालय नजिकै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो साँझ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको कार्यालय सामुन्ने पुग्नुभयो । अध्यक्ष नेपाल र एकीकृत समाजवादीको नाम पनि सुन्न नचाहने अध्यक्ष ओली हिजो साँझ साढे ६ बजेको समयमा मीनभवन नजिकैको आलोकनगर पुग्नुभएको हो ।

उहाँ आलोकनगर छेउको बागमती करिडोरस्थित मदन भण्डारी बाटिका अवलोकन गर्न जानुभएको बताइएको छ । उहाँ पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेल,कामनपाकी उपमेयर सुनिता डंगोललगायत डेढ दर्जनसँगै उक्त बाटिका छिर्नुभएको हो ।

एकीकृत समाजवादीको कार्यालय सामुन्ने रहेको उक्त बाटिका खरेलको घर छेउमा रहेको छ । खरेल पत्नीलगायतको सक्रियतामा बागमती करिडोरमा उक्त बाटिका निर्माण गरिएकाले एक पन्थ, दुई काज भनेझैँ अध्यक्ष ओली हिजो एकीकृत समाजवादीको कार्यालय नजिकै जानुभएको हो ।

यसअघि उहाँ गत बिहीबार धुलिखेल नगरपालिका क्षेत्रको अवलोकन भ्रमणको निम्ति जानुभएको थियो । त्यसबेला नगरका मेयर अशोक ब्याञ्जुलगायतले अध्यक्ष र उहाँकी श्रीमतीको स्वागत गर्नुभएको थियो ।

टिप्पणीहरू