विवाहमा ३० लाख भारु बुझेर कार दाइजो माग्ने नन्द जेल चलान

विवाहमा ३० लाख भारु बुझेर कार दाइजो माग्ने नन्द जेल चलान

दाइजो लिएको र लिन सघाएको आरोपमा मुद्दा खेपेका एक जना जेल चलान भएका छन् भने आरोपित चार जना फरार छन् । अदालतले मागेको धरौटी रकम तिर्न नसक्दा नतिर्दा नव विवाहित दुलाहाकी बहिनी जेल चलान भएकी हुन् । अरु चार जना आरोपित फरार छन् ।

अदालतले फरार सबैलाई पक्राउ गर्न आदेश दिएको छ । विवाहमा ३० लाख दाइजो लिएका,कार चाहिन्छ भन्नेले सोही आरोपको मुद्दामा तीन लाख रुपैयाँ धरौटी राख्न नसक्दा रौतहट जिल्ला अदालतले जेल चलान गरेको हो ।

विवाहमा ३० लाख भारु लिएको र थप कार मागेको भनी दाइजोसम्बन्धी मुद्दा दर्तामा दुवै पक्षका कानुन व्यवसायीहरुको बहस पैरवीपछि न्यायाधीशले आरोपित चारमध्ये रेणु गुप्ताको हकमा तीन लाख धरौटी मागेकी हुन् । तर धरौटी तिर्न नसकेपछि जेल चलान भइन् ।

भारतको बिहार राज्यस्थित शिउहर जिल्लाको पिपरा थाना बसहिया गाउँ निवासी २४ वर्षकी प्रियादर्शनी गुप्ताको गरुडा नगरपालिका ५ निवासी जयलाल साहका कान्छा छोरा रोशनकुमार गुप्तासँग २०७७ मंसिर १० गते समाजिक परम्पराअनुसार विवाह भएको थियो ।

केटा पक्षले ३० लाख भारतीय रुपैयाँ लिएर विवाह गरेपछि दुलही घर भित्र्याएका थिए । तर तीन साता नबित्दै कार माग्न थालेको बताइन्छ । कार जतिसक्दो छिटो नदिए घरबाट निकालिदिने र ज्यान मार्नेसम्मको धम्की सासू,ससुरा, श्रीमान र नन्दहरुले दिएका थिए । प्रियदर्शनीका अनुसार उनीहरुले हातपातसमेत थालेका थिए ।

त्यसपछि प्रहरीको सहयोगमा उनको उद्धार गरिएको थियोे । केही महिना नबित्दै श्रीमान रोशनकुमार गुप्ताले पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । प्रियादर्शनीले पनि मानोचामल र घरेलु हिंसालगायत धेरै वटा उच्च अदालत वीरगञ्ज,जनकपुर, जिल्ला अदालत पर्सा र रौतहटमा दर्ता गरेकी छन् । उनले दर्ता गरेको मुद्दा डेढ दर्जन पुगेको छ ।

नेपालमै पहिलो पटक विवाहमा लेनदेन गरेको भन्ने उजुरीमा जिल्ला प्रहरी कार्यालयले दर्ता गरेर अनुसन्धान थालेको हो । त्यसपछि नन्द रेणु गुप्तालाई वीरगञ्जको नगवा टोलबाट प्रहरीले पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेश गरेको थियोे ।

विवाहमा गरिएको लेनदेनमा संलग्न अन्य चार जना आरोपित फरार छन् । तिनका नाममा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतका रजिस्ट्रार सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

टिप्पणीहरू