विकराल बन्दै मानसिक रोग र रोगीको संख्या
हाम्रो समाजमा विगतदेखि नै अन्य रोगलाईभन्दा मानसिक रोग र रोगीलाई महत्व दिएको पाईंदैन । अस्पताल र स्वास्थ्य केन्द्रहरुमा पनि उक्त रोगसँग सम्बन्धित चिकित्सक र विभाग तथा युनिटलाई हेलाँ भावको रुपमा राखिएको पाइएको छ ।
तर यो रोग समाजको निम्ति कति घातक छ र हुन्छ भन्ने उदाहरण हिजो नुवाकोटमा देखियो । मानसिक रोगीका कारण सम्बन्धित परिवार र समाजले भोग्दै आएको गम्भीर परिणामलाई हिजो नुवाकोटमा भएको एउटा घटनाले ह्वाङ्गै बाहिर ल्याइदिएको छ ।
ककनीस्थित विद्युत् प्रसारण लाइनमा हिँडेका उनको नेपाली सेनाले सकुशल उद्धार गरेको थियो । पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक हुन् ।
उक्त प्रशारण लाइन माथिल्लो त्रिशूली थ्री ए को हो । काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष तालिमप्राप्त टोलीले उनको सकुशल उद्धार गरेको थियो । तारमा चढेको आठ घण्टापछि उनलाई उद्धार गरिएको हो ।
बिजुलीको उच्च भोल्टेजको हाइटेन्सन लाइनको तारमा समातेर हिँडेका उनी हिजो दिनभर सामाजिक सञ्जालमा हाँसोको पात्र बने । उनलाई धेरैले गिज्याए । तर, ती माइलालाई गिज्याउनेहरु नै आज हाँसोको पात्र बनेका छन् ।
हिजै साँझ उनी मानसिक रोगी भएको तथ्य खुलेको छ । मानसिक रोगले मानिसलाई के केसम्म गराउँछ भन्ने उदाहरण हिजोको घटना बनेको छ । त्यसैले यस्ता रोग र रोगीको समयमा उपचार हुनुपर्ने देखिएको हो ।

स्थानीय माइला विक नौ घण्टा हाइटेन्सनको तारमा हिँडेको दृश्य सरसर्ती हेर्दा त्यो तमासा नै थियो । विकले उक्त हाइटेन्सन लाइनको भीमकाय पोल चढ्न खोजेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणमा जानकारी गराएका थिए ।
त्यसपछि बिजुली प्रशारण बन्द गरिएको तारमा उनी दिनभर हिँडे । तर त्यो आश्चर्य थिएन, किनकी यो हाम्रो समाजमा बढदो मानसिक समस्या र मनोरोगीहरुको अवस्थाको अनुपम नमूना हो । क्रमशः बढ्दो अवस्थामा रहेका मनोरोगी र मानसिक समस्याप्रति हाम्रा तीन वटै तहका सरकार संवेदनशील नभएको अर्को परिणाम पनि हो ।
सरकारी संयन्त्र यो रोगको समयमै रोकथाम र नियन्त्रणप्रति उदासीन छन् । नेता, मन्त्री र उच्च पदस्थ अधिकारीहरुकै घरमा नपरेसम्म वा स्वार्थ नजोडिएसम्म यस सम्बन्धमा जनहितकारी कुनै नीति कार्यक्रम आउने गरेका छैनन् । अहिलेसम्म यसतर्फ विशेष बजेट नै विनियोजन गरिएको छैन ।
मुलुकको एकमात्र मानसिक अस्पताल, लगनखेलको अवस्थाले पनि हाम्रो समाजमा उक्त रोगलाई हेर्ने दृष्टिकोण झल्काएको हो ।
टिप्पणीहरू