माओवादीको लफडाले एकीकृत समाजवादीलाई चिट्ठा
-कमल भट्टराई
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङको प्रमुखको उम्मेदवारीलाई लिएर नेकपा माओवादी केन्द्रमा चर्को विवाद उत्पन्न भएको छ । प्रदेश समितिको निर्णयविपरित जिल्लाका केही नेताले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि रडाको मच्चिएको हो।
जेठ २५ गते बसेको माओवादी प्रदेश कार्यालय बैठकले जिसस प्रमुखमा मिङमा डण्डु शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले जिल्ला कमिटीको सिफारिसका आधारमा शेर्पालाई टिकट दिएको जानकारी गराउँदै कार्यान्वयनका लागि परिपत्र गरेका थिए ।
तर, त्यसअघि नै अर्को पक्षले गङ्गा शंखरलाई सुटुक्क उम्मेदवार बनाएपछि माओवादी केन्द्रको आन्तरिक विवाद छरपष्ट भएको हो । जिल्ला पार्टीलाई समेत जानकारी नदिई प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका मौवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश बेनामले आफू प्रस्तावक बसेर शंखरलाई उम्मेदवार बनाएपछि शेर्पाले उम्मेदवारी दर्ता गर्न पाएनन् । माओवादी केन्द्र ताप्लेजुङ्गले कार्यपालिका गठन प्रयोजनका लागि लगेको टिकट दुरुपयोग गरेर पार्टी निर्णयविपरित उम्मेदवारी दर्ता गरेकाले शंखर पार्टीको आधिकारिक उम्मेदवार नभएको प्रष्ट पारेको छ ।
स्थानीय चुनावमा गठबन्धनबाट लडेका कांग्रेस,माओवादी र एकीकृत समाजवादीले त्यतिबेलै जिसस पनि भागबण्डा गरेका थिए । जसअनुसार जिसस प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीले लिने सहमति भएको थियो । तर, माओवादीका आधिकारिक व्यक्तिले उम्मेदवारी दिनै नपाएपछि गठबन्धनमा खैलाबैला मच्चिएको छ । त्यसपछि छोटो समयमा निर्णय गर्दै एकीकृत समाजवादीबाट छिरिङ लामालाई प्रमुख पदमा उठाउने निर्णय गठबन्धनले गरेको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङले विज्ञप्ती जारी गर्दै आफ्नो आधिकारिक उमेदवार गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका छिरिङ लामा रहेको र उहाँलाई विजयी गराउन आफ्ना नेता तथा कार्यकर्ता लाग्ने बताएको छ ।
ताप्लेजुङमा जिससको चुनाव रोचक हुने देखिएको छ । नौ स्थानीय तह रहेको जिल्लामा जिससका लागि १८ मत छ । जिसस प्रमुखमा एमालेबाट धनेन्द्र मादेन,माओवादी केन्द्रका गंगा शंकर र नेकपा एकीकृत समाजवादीबाट छिरिङ लामा निर्वाचनको मैदानमा छन् । एमालेसँग ६, काँग्रेस र माओवादीसँग समान ५ र एकीकृत समाजवादीसँग १ मत छ ।

टिप्पणीहरू