उक्सिंदै पर्यटन क्षेत्र,पाँच महिनामा दुई लाख पर्यटक नेपाल भित्रिए
पछिल्लो पाँच महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै करिव दुई लाख पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् ।
विश्वमा कोरोना महामारी सुरु भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको हो ।
कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो एक वर्षमा आएकाभन्दा बढी पर्यटक यस वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए ।
विभागका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ९६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका छन् ।
टिप्पणीहरू