ठगले सुरक्षा निकायका हाकिमहरुलाई पनि जिल्याइदिए
गत मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले ठगी मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गर्यो ।पाल्पाको तिनाउ गाउँपालिका–३ घर भएका ४० वर्षीय जीतबहादुर गुरुङ बैँकिङ कसुर मुद्दाका प्रतिवादी हुन् जसलाई प्रहरीले राजधानीको बसुन्धराबाट पक्राउ गरेको थियो ।
रुपन्देहीको बुटवलमा उजुरी परेकाले प्रहरीले थप अनुसन्धानको निम्ति जीतबहादुरलाई इलाका प्रहरी कार्यालय,बुटवल पठायो । पक्राउ परेलगत्तै उनीविरुद्ध काठमाडौं प्रहरीमा पनि उजुरी परेको छ ।
सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका हाकिमको समेत लाखौं रुपैयाँ उछिट्याएका उनीविरुद्ध परेको उजुरीको निम्ति अब उनलाई काठमाडौं पनि ल्याउनुपर्ने भएको छ । प्रतिवादी गुरुङले सुरक्षा निकायका हाकिमहरुलाई समेत जिल्याएर लाखौं ठगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंले थप विवरण नदिए पनि जीतबहादुरले धेरै जनालाई ठगेको र त्यससम्बन्धमा उजुरी परेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले प्रतिवादी गुरुङमाथि अनुसन्धान सकाएपछि काठमाडौं पुर्याउन सकिने बतायो ।
उक्त कार्यालयको प्रशासनअन्तर्गत मुद्दा फाँटका अनुसार बुटवलमा उनको मुद्दा र बहस टुंगो लागिसकेपछि काठमाडौं पठाउन सकिने छ । ‘पहिले बुटवलमा उजुरी परेको हुनाले यहाँको मुद्दा फाइनल भइसकेपछि मात्र काठमाडौं पठाइन्छ,’ फाँटमा कार्यरत एक कर्मचारीले बताए ।
त्यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बुटवलमा अनुसन्धान सकिएपछि थप छानबिनको निम्ति जीतबहादुरलाई काठमाडौं ल्याउने जानकारी दिएको छ । तर उता अनुसन्धान नसकिएसम्म यता ल्याउन नमिल्ने दुवै कार्यालयले बताए ।
टिप्पणीहरू