पूर्वराजा ज्ञानेन्द्रमाथि फेरि खनिए कमल थापा

पूर्वराजा ज्ञानेन्द्रमाथि फेरि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको नकारात्मक भूमिकाका कारण अब राजसंस्था कहिल्यै नफर्किने दाबी गरेका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भनेका छन्, ‘राजसंस्थाको स्थापना सम्भव छैन । पूर्वराजा ज्ञानेन्द्र शाहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दूरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

थापाले देशमा कायम रहेको संघीय संरचना उपयुक्त नभएको बताउँदै प्रदेश सरकारको आवश्यकता नरहेको ठहर गरेका छन् । विगतको अनुभवलाई हेर्दा केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकारप्राप्त स्थानीय सरकार रहने गरी दुई तहको संघीय संरचना बनाउनु पर्ने थापाको निश्कर्ष छ ।

राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्ने बताएका छन् । पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता नदेखिएको उनको भनाइ छ ।

अहिलेको निर्वाचन प्रणाली फेल भएको उल्लेख गर्दै उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न जोड दिएका छन् ।

‘आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ,’ थापाले भने, ‘अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दुरुपयोग हुने गरेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त छ ।’

थापाको निश्कर्ष छ, ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद र संसदबाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक छ ।’

टिप्पणीहरू