उपेन्द्रको एकलौटी रोक्न बाबुराम बालुवाटारमा

उपेन्द्रको एकलौटी रोक्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा आफ्नो बहुमत रहेको दाबी गर्दै क्याविनेट पुनर्गठन गर्दा अध्यक्ष उपेन्द्र यादवको कुरा नसुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भट्टराईले महत्वपूर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने काम भयो,’ जसपाका एक नेताले भने, ‘पार्टीको महत्वपूर्ण निर्णयमा तीनजनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रले आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’

भेटका क्रममा भट्टराईले पार्टीले गर्ने महत्वपूर्ण निर्णयमा आफूसहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

‘बाबुरामजीले आज प्रधानमन्त्रीज्यूलाई भेटनु भएको थियो, भेटमा समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको छ,’ केन्द्रीय कार्यकारिण समिति सदस्य मोहम्मद ईस्तियाक राईले भने । नेता राईले प्रधानमन्त्रीसँग भएको भेटमा भट्टराईलगायतका नेताले के-के विषयमा कुराकानी भएको प्रस्टाउने काम नगरे पनि अध्यक्ष यादवको एकल निर्णयलाई अस्वीकार गर्ने विषयमा जोड गरेको बुझिएको छ ।

अध्यक्ष यादव कृषि तथा सहकारीमन्त्री महेन्द्रराय यादवलाई मात्र सरकारवाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहन्छन् । तर, बाबुराम समूह भने पूरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई क्याविनेटमा पठाउनुपर्ने पक्षमा छ ।

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पनि यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको भट्टराई पक्षको आरोप छ । त्यसमाथि, क्याविनेट पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।

टिप्पणीहरू