चिनीको भाउ बढाइयो, खुद्रा मूल्य प्रतिकेजी १ सय ५ रुपैयाँ

चिनीको भाउ बढाइयो, खुद्रा मूल्य प्रतिकेजी १ सय ५ रुपैयाँ

चिनीको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म महँगो भएको छ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ बढाइएको हो । केही चिनी उद्योगी र व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाइएको हो । भारतले जेठ १८ गतेदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।

नेपाल खुद्रा व्यापार संघले पनि चिनीको मूल्य थोकबजारमा नै प्रतिकेजी १० रुपैयाँ बढाइएको जानकारी दिएको छ । अघिल्लो सातासम्म चिनीको मूल्य ९५ रुपैयाँ थियो ।

चिनी व्यापारीले आफूसँग रहेको मौज्दातमा भाउ बढाएको राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको दाबी छ । भारतले चिनी निर्यातमा रोक लगाएको कारण मुलुुकभित्र चिनी ल्याइएको छैन । त्यसैले पुरानो मौज्दातमा कसरी मूल्य बढ्यो वा बढाइयो भन्नेबारे सरकारी निकायले खोजबिन नगरेको उनको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा झण्डै ५० हजार मेट्रिक टन चिनी मौज्दात छ । यो मौज्दातले कम्तिमा पनि तीन महिनाको आन्तरिक माग धान्छ ।

मुलुकमा वार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । आगामी भदौ, असोज, कात्तिक र मंसिरमा मात्रै कुल मागको झण्डै आधा चिनी खपत हुने गरेको छ ।

टिप्पणीहरू