ओली मञ्चमा व्यंग गर्ने, कार्यकर्ता तल निदाउने
स्थानीय चुनावमा पार्टी पराजयको कारण अन्तर्घात भन्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आफ्ना जनप्रतिनिधिहरुलाई भेला गरेर धाँदलीले हार्नुपरेको दाबी गर्नुभएको छ । सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गरेर चुनावको नतिजा प्रभावित पारेको उहाँको आरोप छ ।
एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई तालिम दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पैसा बाँडेर, आफ्ना कार्यकर्ता कुटेर गठबन्धनले चुनाव जितेको आरोप लगाउनुभयो । बुथ कब्जा गर्नुका साथै प्रशासन लगाएर ढ्वांग साटेको पनि उहाँले दाबी गर्नुभयो ।
प्रतिक्रियावादी शक्तिहरुले घेरा हालेको अवस्थामा समेत त्यसलाई तोडेर महासंग्राम जितेको भन्दै उहाँले आफ्ना जनप्रतिनिधिहरुलाई बधाई पनि दिनुभएको छ । अध्यक्ष ओलीका अनुसार उम्मेदवार अपहरण गरेर, कार्यकर्ता कुटेर केही सिटमा हराए पनि एमालेको लोकप्रिय मत घटेको छैन ।
ओलीले मञ्चमा गरेको यस्तो भाषणप्रति तल कुर्सीमा बसेका जनप्रतिनिधिहरुमा भने खासै रुची देखिएन । बरु ओली बोलिरहँदा अधिकांश जनप्रतिनिधि मस्त निदाइरहेका थिए । यो देखेर माथि मन्चबाट ओलीले कार्यक्रम लाईभ भएको भन्दै सचेत गराउनुभएको थियो ।
टिप्पणीहरू