हुलाकका कर्मचारी भन्छन् ‘पूरा काम पूरा दाम’
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले निजामती कर्मचारी र अतिरिक्त कर्मचारीमाथि सेवासुविधामा ठूलो भेदभाव भएको गुनासो गरेको छ । तलबभत्ता समान बनाउन सरकारसामु पटक पटक माग राख्दा पनि सुनुवाई नभएको एसोसिएसनका अध्यक्ष टंकप्रसाद हुमागाईंले बताए ।
मुलुकको हरेक कुनामा पुगेर सञ्चार सेवामा आमनागरिकको पहुँच पुर्याउन खटिएका कर्मचारीमाथि सरकारले हेपाहा प्रवृत्ति देखाएको उनको गुनासो छ । सेवासुविधाको दृष्टिकोणले अतिरिक्त कर्मचारी मर्कामा परेको भन्दै उनले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको दुखेसो पोखेका हुन् ।
एसोसिएसनले अवकाशपछि रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्दै निवृत्त हुने कर्मचारीलाई सुविधासहित बिदाई गर्नुपर्ने माग पनि राख्दै आएको छ । त्यस्तै, अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने, पोशाक भत्ता, सञ्चयकोष, कार्यालय स्थापनालगायतका माग पनि उसको छ । तलबभत्ता वृद्धि गरिदिन र पूरा कामको पूरा तलब दिन अध्यक्ष हुमागाईंले सरकारसँग आग्रह गरेका हुन् ।
त्यसैगरी, विगत दुई वर्षदेखि तलब नबढेको र अहिलेको तलबस्केल न्यायपूर्ण नभएकाले यसलाई वैज्ञानिक र व्यवहारिक बनाउन तथा सञ्चित बिरामी बिदाको रकम एकमुष्ठ व्यवस्था गरिदिन पनि एसोसिएसनले सरकारसँग माग गरेको छ ।
एसोसिएसनमा झण्डै ११ हजार कर्मचारी कार्यरत छन् । अझै पनि समस्या समाधानमा ढिलासुस्ती भए ती सबै कर्मचारी आन्दोलनमा उत्रिने चेतावनी एसोसिएसनले दिएको छ ।
टिप्पणीहरू