पुरुष वडासचिव चाहियो भन्ने वडाध्यक्षले मागे माफी
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं १० अर्खौलेका वडाध्यक्ष अर्जुनकुमार पुरीले माफी मागेका छन् । वडासचिवमा पुरुष नै चाहिन्छ भन्दै ढिपी कस्ने वडाध्यक्ष पुरीको सर्वत्र आलोचना भएपछि उनले माफी मागेको हुन् ।
महिला कर्मचारीसंग काम गर्न असहज हुने भन्दै उनले अस्ति नगरका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेका थिए । ‘जनप्रतिनिधिहरु नयाँ भएको कारणले महिला वडासचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारी नै वडासचिव रहने व्यवस्था गरिदिन अनुरोध छ’ पत्रमा भनिएको छ ।
उनको यो पत्रपछि सामाजिक सञ्जालमा ओलाचनात्मक टिकाटिप्पणीको ओइरो लागेको थियो । महिला कर्मचारीमाथि विभेद गरेको भन्दै चौतर्फी आलोचना भएपछि आज उनले विज्ञप्तिमार्फत क्षमायाचना गरेका हुन् । महिला भएकै कारण काम गर्न सक्नुहुन्न भन्ने आशय आफ्नो नभएको भन्दै उनले स्पष्टीकरणसमेत दिएका हुन् ।
नयाँ कर्मचारीलाई भौगोलिक विकटताको कारण सेवा प्रवाह गर्न जाँदा–आँउदा असहज हुने भएकाले उक्त पत्र लेखेको विज्ञप्तिमा उल्लेख छ । ‘सामाजिक सञ्जालहरुमा आएजस्तो महिला भएकै कारण काम गर्न सक्नुहुन्न भन्ने आशय पटक्कै होइन्’, विज्ञप्तिमा भनिएको छ,‘भुलबस त्यो भाषा प्रयोग हुन गयो ।’
नियत सही हुँदाहुँदै पनि प्रयोग भएको भाषाले पर्न गएको असरप्रति उनले माफी मागेका छन् । हप्ताको एक दिन सेवा सञ्चालन गर्न नवलपुर जानुपर्ने भएकाले यस्तो निर्णय गरेको वडाध्यक्ष पुरीको दाबी छ । नगरपालिकाले वडा नं–१० मा सुशिला दाहाललाई हालै सरुवा गरेर पठाएको थियो ।
टिप्पणीहरू