फेरि विवादमा तानिइन् अभिनेत्री करिश्मा मानन्धर
पछिल्लो समय अभिनेत्री करिश्मा मानन्धर एकपछि अर्को विवादमा तानिन थालेकी छन् । कहिले फेसबुक स्टाटस, कहिले सार्वजनिक मञ्चमा व्यक्त धारणालगायत विवादमा तानिने गरेकी मानन्धर आज पुनः अर्को विवादमा तानिएकी हुन् ।
आज उनले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौंको वसन्तपुरमा अनसनरत निहारिका राजपुतको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएपछि विवादमा तानिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टा्याटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको बताएकी छन् । निहारिकालाई आफ्ना म्यानेजरले भेटेर केही आर्थिक सहयोग समेत गरेको उनले जानकारी गराएकी छन् ।
करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमिसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’
१७ वर्षको उमेरमा आफ्नै साथीको दाइले नशालु पदार्थ खुवाएर बलात्कार गरेको निहारिकाको आरोप छ । बलात्कारपछि गर्भवती भएकी उनी त्यसयता निरन्तर न्यायको निम्ति संघर्षरत छिन् । उनले कानुनी उपचार र न्याय प्राप्तिको निम्ति लडाईं गरेकी हुन् ।
तर, अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमा आफूले निहारिका र उनको छोरालाई आफूसँगै राख्न चाहेको बताएपछि एकाएक आलोचना भएको हो । उनलाई सामाजिक सञ्जालकर्ताहरुले ‘करिश्मा म्याम निहारिकाले कानुनी उपचार खोजेकी हुन्, पैसा र घर खोजेकी होइनन्’ भनेका छन् । करिश्माले निहारिकाको माग के हो भन्नेबारे नबुझेको र भेउ नै नपाएको सामाजिक सञ्जालकर्ताहरुको आरोप छ ।
उनीहरुले करिश्मालाई सुझाएका छन्, ‘पहिला माग के हो त्यो जानेर, बुझेर मात्र बोल्न पर्यो ।’
त्यसो त स्थानीय तहको निर्वाचनअघि करिश्मा आफ्नै नामका कारण आलोचित भएकी थिइन् । गत वैशाखमा एकाएक एमाले प्रवेश गरेको भनिएकी करिश्माले चुनावी सभामा आफ्नो नाम ‘सूर्जेकुमारी’ भएको बताएपछि पार्टीको चुनाव चिन्हसँग जोडेर आफ्नो नामको प्रचार गरिएको भनेर धेरैले आलोचना गरेका थिए ।
लगत्तै उनले आफ्नो फेसबुक पेजमा लेखिएको नामको पछाडि ‘सूर्य कुमारी’ थपेकी थिइन् ।
टिप्पणीहरू