बेलायतमा अध्यक्ष बेखबर, लफडा बैंक अकाउन्टको
एनआरएनए युकेको एचएसबीसी वेलफेयर बैंक अकाउन्ट बिना सल्लाह बन्द गर्ने प्रक्रिया बढाइएको थाहा पाएपछि अध्यक्ष प्रेम गाहामगरले निन्दा गरेका छन् । अध्यक्ष र पदाधिकारीलाई समेत थाहा नदिई अकाउन्ट बन्द गर्न खोजिनु खेदजनक भएको र यसले आर्थिक अपचलनको शंकामा थप बल पुगेको उनको टिप्पणी छ ।
उक्त अकाउन्ट एनआरएनए युकेको प्राइमरी बैंक अकाउन्ट भएको र सन् २०१७ देखि २०२१ सम्म सम्पूर्ण कारोवार भएको स्मरण गराउँदै गाहामगरले पूर्व अध्यक्ष पुनम गुरुङलाई शुक्रबार एक सचेतपत्र पठाएका छन् ।
कार्यसमितिलाई बैंक खाता हस्तान्तरण गर्नुको सट्टा गत जनवरीदेखि उक्त अकाउन्ट बन्दको प्रक्रिया बढाउँदा विगतको विवादास्पद आर्थिक घोटालाप्रति ‘पब्लिक’ मा थप आशंका बढेको गाहामगरले उल्लेख गरेका छन् । कम्प्लायन्स नपुगेर बैंकले बन्द गर्न खोजेको भए त्यसबारे आफूहरूलाई किन अवगत गराइएन भन्ने प्रश्न पनि गाहामगरको छ ।
पटक पटक ताकेता र पत्राचार गर्दासमेत गत वर्ष अगष्ट २१ मा निर्वाचित अध्यक्ष प्रेम गाहामगरको कार्यसमितिलाई आजसम्म खाता हस्तान्तरण गरिएको छैन । यही अवस्थामा एचएसबीसी वेलफेयर बैंक अकाउन्ट बन्द भएको भनिएको थियो । जसमा २६ हजार ८७ पाउण्ड, ५९ पेन्स रकम थियो । यसरी खाताको रकम नै गायव भएपछि कार्यसमिति बैठकले गत मे महिनामा गायव भएको कोषको खोजी शुरु गरेको थियो ।
यसै क्रममा निवर्तमान अध्यक्षका हैसियतमा पुनम गुरुङलाई गत मे २९ मा पत्र लेखी सार्वजनिक सूचना जारी गरिएपछि बल्ल गत जुन ८ मा पैसा ट्रान्सफर गरिएको कुरा गाहा मगरले पत्रमा उल्लेख गरेका छन् । पैसा ट्रान्सफर भए पनि अकाउण्ट ट्रान्सफर गर्न आनाकानी गरिएको छ ।
अध्यक्ष गाहामगरले यसअघिका अन्य बैंक अकाउन्ट र कारोबारमा पनि आफ्नो कार्यसमितिलाई पहुँच नदिइएकोमा आश्चर्य प्रकट गरेका छन् । यसले यी खातामार्फत मनि लाउन्डरिङ वा अन्य आर्थिक अपराध भएको हुन सक्ने आशंका बढाएको छ । बैंक अकाउण्ट पब्लिक प्रोपर्टी भएकाले त्यो बन्द गर्ने व्यक्ति जो–कोही कानुनको भागिदार हुने पनि अध्यक्ष गाहामगरले चेतावनी दिएका छन् ।
स्मरणीय के छ भने २०१९ को सेप्टेम्बरताका भएको निर्वाचन र त्यसअगाडि–पछाडि संघको ठूलो रकम घोटाला भएको भन्दै अहिले एक मुद्दा बेलायती अदालत डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ । सो को सुनुवाइ आगामी अक्टोबरमा हुँदै छ ।
टिप्पणीहरू