अघिल्लो हप्ता सेफ्टि ट्याङ्कीमा, आज इनारमा डुबेर दुईको निधन
चितवनमा अघिल्लो साता सेफ्टि ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो । आज इनार सफा गर्ने क्रममा अरु दुई जना बितेका छन् ।
सेफ्टि ट्याङ्की सफा गर्ने क्रममा पसेका एक जना बाहिर ननिस्केपछि पसेका अर्काको पनि ज्यान गएको थियो । आज इनार सफा गर्ने क्रममा पनि त्यस्तै भएको हो ।
आज दिउँसो माडी नगरपालिका ७, देवेन्द्रपुरस्थित रीता रेग्मीको घरभित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा स्थानीय २५ वर्षे सूर्य गुरुङ इनारभित्र पसेका थिए । केही समयपछि उनले बोल्न नसकेर उद्धारको निम्ति हातले इशारा गरे । सँगै काम गर्न गएका स्थानीय ३० वर्षे शिव राई कम्मरमा डोरी बाँधेर गुरुङको उद्धार गर्न इनारभित्र पसे ।
तर दुःखद् क्षण त्यतिबेला भयो जतिबेला निजले आफूलाई बाँधेको डोरी चुँडियो । राई इनारमा खसे । त्यसपछि प्रहरी चौकी कल्याणपुरको टोलीका एक जनाले शरीरमा डोरी बाँधी तल जान खोजे, उनले पनि अक्सिजन कमीका कारण स्वासप्रश्वासमा असहज महशुस गरे ।
नजिकैको बगौडा अस्पतालबाट अक्सिजन ल्याएर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दुवै जनाको शव बाहिर निकालियो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान र छानबिन गरिहेको छ ।
टिप्पणीहरू