विवादमा तानिएका मन्त्री आलेविरुद्ध उजुरी

विवादमा तानिएका मन्त्री आलेविरुद्ध उजुरी

आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा पर्दै आउनुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । संघीय संसदको आचरण अनुगमन समितिमा मन्त्री आलेको अभिव्यक्तिविरुद्ध उजुरी परेको हो ।

हालै सार्वजनिक एक अडियो संवादमा आलेले अश्लिल शव्द प्रयोग गरेको र ‘ठेगान लगाइदिने’ धम्की दिएको भन्दै उहाँमाथि कारबाहीको मागसहित उजुरी दर्ता भएको हो ।

‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । साँस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरुमा अश्लिल शब्दमात्रै प्रयोग गर्नु भएन, ठेगान लगाउनेसम्मको धम्की दिनुभयो’, उजुरीमा भनिएको छ ।

विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजूरीमा उल्लेख छ । अस्ति शुक्रबार मन्त्री आलेले कर्मचारीलाई अश्लिल गालि गरेको र नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको भन्दै विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा समाचार सार्वजनिक भएको थियो ।

त्यस्तै, प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अश्लिल शब्द प्रयोग गरेको मन्त्री आलेमाथि आरोप छ । यसअघि पनि भारतमा बस्ने एक नेपालीलाई उहाँले अश्लिल शव्दमा गालि गरेको अडियो बाहिरिएको थियो ।

मन्त्रीको शपथ लिएलगत्तै नतिजामुखी काम गरेको भन्दै सर्वत्र वाहावाही कमाउनुभएका मन्त्री आले आफ्ना अभिव्यक्तिका कारण भने आलोचनामा पर्नुभएको छ । पछिल्लो अडियो सार्वजनिक भएसँगै उहाँको पार्टी एकीकृत समाजवादीले समेत राजीनामा दिन सुझाएको छ ।

टिप्पणीहरू