मुस्ताङमा जहाज खस्नुको मुख्य कारण ‘खराव मौसम’
गत जेठ १५ गते बिहान भएको तारा एअरको विमान दुर्घटनाको छानबिन अन्तिम चरणमा पुगेको छ । सो दिन बिहान पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ९ एनएइटी ट्वीनअटर विमान मानापाथी हिमालको फेदीमा अवस्थित थासाङ गाउँपालिकाको सानुसरेमा भोलिपल्ट बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सानुसरे कोबाङबाट नजिकैको दूरीमा पर्छ ।
सोही दुर्घटनाको छानबिन र अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले प्रतिवेदनको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन लागेको हो । उक्त दुर्घटना मूलतः मौसमको कारणले भएकोमा टोली सदस्यहरु नजिक पुगेको बताइन्छ । तारा एअरको जहाज दुर्घटना हुनुभन्दा ५ मीनेटअघि अर्को कम्पनीको विमान सोही रुटबाट जोमसोम गएको थियो । सोही विमानले पनि बिहान पोखरा–जोमसोम–पोखराको उडान गरेको थियो ।
सोही मार्ग भएर केही मीनेटको फरकमा अन्य जहाज उडेको अवस्थामा ताराको विमान दुर्घटना हुनुलाई मौसम मुख्य कारण भएको आयोगलाई उद्धृत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले दाबी गरेको छ । स्रोत भन्छ, ‘जहाज र अन्य प्राविधिक अवस्था सबै ठीक रहेको पाइएको छ । पाइलटको खासै कमजोरी देखिएको छैन ।’
अब प्रतिवेदन जतिसक्दो छिटो बुझाउने तयारीमा रहेको बुझिएको छ । उक्त प्रतिवेदन दुर्घटनामा मारिएका विदेशी यात्रुको मुलुकमा पनि पठाउनुपर्ने आइकाओको नियम छ । तारा एअर दुर्घटनामा दुई जना जर्मन र चार जना भारतीय नागरिक मारिएका थिए । १३ जना नेपाली र चार जना चालक दलका सदस्यको पनि उक्त दुर्घटनामा ज्यान गएको हो ।
दुर्घटना जाँच आयोगमा वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन र वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ सदस्य छन् । त्यसैगरी वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव प्राविधिक बुद्धिसागर लामिछानेलाई पनि सदस्यमा राखिएको छ ।
टिप्पणीहरू