विप्लव छाडेकाको सूचीमा ४३ जना ‘राजबन्दी’

विप्लव छाडेकाको सूचीमा ४३ जना ‘राजबन्दी’

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले जेलजीवन भोगिरहेका आफ्ना भण्डै चार दर्जन नेता तथा कार्यकर्ताको रिहाइको माग गरेको छ । पार्टीले रिहा गर्नुपर्ने ४३ जना राजबन्दीको नामावली सरकारसमक्ष पेश गरेको हो ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हिजो बुझाइएको उक्त पत्रमा पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार अझैसम्म रिहा नगरिएका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको नाम सरकारलाई बुझाएको हो ।

पत्रमा उनीहरुको नाम, ठेगाना र अहिले रहेको कारागारसमेत उल्लेख गरिएको छ । उनीहरुमाथि लागेको मुद्दाको प्रकृति पनि खुलाइएको छ ।

राज्यद्वारा पक्राउ परेर जेल चलान भएका बन्दीहरुलाई अपहरण, संगठित अपराध, हातहतियार खरखजना, बम विस्फोट, आगजनी, कर्तव्य ज्यान, चन्दाअसुली र राजद्रोह जस्ता मुद्दा चलाइएको बहुमतले उल्लेख गरेको छ ।

तीमध्ये १० जना नेता कार्यकर्ता केन्द्रीय कारागार काठमाडौंमा र आठ जना नख्खु कारागार ललितपुरमा रहेको बताइएको छ । त्यसैगरि ७ जना भीमफेदी कारागार मकवानपुर छन् भने भोजपुर र सिन्धुली कारागारमा ३/३ जना, सुनसरी, जुम्ला, कालिकोट र महोत्तरीमा क्रमशः २/२ जना छन् । त्यस्तै जाजरकोट, कैलाली, मोरंग र ताप्लेजुङमा क्रमशः १/१ जना रहेको बताइएको छ ।

टिप्पणीहरू