अमेरिकाबाट फर्किनेबित्तिक्कै वामदेवको पार्टी एकता अभियान अघि बढ्यो

अमेरिकाबाट फर्किनेबित्तिक्कै वामदेवको पार्टी एकता अभियान अघि बढ्यो

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि स्वतन्त्र रहेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ चलाउँदै आउनुभएका राष्ट्रियसभा सांसद वामदेव गौतमले कम्युनिष्ट एकताका लागि तीन वटा विकल्प अघि सार्नुभएको छ ।

उहाँले अघि सारेको पहिलो विकल्पमा नेकपाको (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) पुनर्गठनलाई प्राथमिकतामा राखिएको छ । त्यो सम्भव नहुँदा सहमत हुनेहरुबीच एकता वा आ-आफ्नो स्वतन्त्र अस्तित्वसहित सहकार्य गर्न सकिनेबारे गौतमले छलफल अघि बढाउन लाग्नुभएको हो । आउँदो शनिवार अभियानको दोस्रो राष्ट्रिय भेलामा यसबारे छलफल हुने बताइएको छ ।

ललितपुरको सानेपास्थित सिध्दार्थ कटेजमा बिहान ८ बजे गौतमले भेलाको उद्घाटन गर्नुहुने बताइएको छ । भेलाले पार्टी एकतासम्बन्धमा अभियानले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै नयाँ रणनीति बनाउने छ । साथै केन्द्रीय संयोजन समिति गठन गरेर पार्टी एकताका वार्ता कमिटी गठन गर्ने जनाइएको छ ।

केही साना कम्युनिष्ट पार्टीहरु अहिले नै एकता प्रक्रियामा सहभागी भैसकेको बताउँदै नेता गौतमले सबै वामपन्थी घटकलाई यो अभियानमा जोड्दै जाने लक्ष्य रहेको बताउनुभएको छ । उहाँका अनुसार विशेष गरी संघीय संसदमा रहेका तीन ठूला एमाले,माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलाउने पहिलो प्रयास हुनेछ ।तीन वटैको एकता सम्भव नहुँदा सहमत हुनेहरुबीच एकीकरण गर्ने गौतमको भनाइ छ । त्यो पनि सम्भव नहुँदा आफ्नो पार्टीले अगाडि सारेको विचारसँग निकट हुने पार्टीसँग सहकार्य गर्दै निरन्तर एकताका पक्षमा अभियान चलाइरहने उहाँले प्रष्ट्याउनु भयो ।

भेलामा अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीका प्रतिनिधिलाई पनि खबर गरिएको बताइएको छ । त्यस्तै, नेपालमा दर्ता भएका र नभएका सबै वामपन्थी पार्टीका प्रतिनिधिले भेलामा आतिथ्यता जनाउने बुझिएको छ ।

कुनैबेला राष्ट्रिय राजनीतिमा निकै शक्तिशाली मानिनुहुने गौतम नेकपा हुँदै एमालेको विभाजनपछि निस्क्रिय रहँदै आउनुभएको थियो । एकता अभियान चलाए पनि खासै प्रभावकारिता देखिएको छैन ।

गौतम पाँच दिने अमेरिका भ्रमण सकेर केही दिनअघि मात्रै नेपाल फर्किनुभएको हो । अमेरिकाबाट फर्केलगत्तै राष्ट्रियसभा बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउन तत्कालीन प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीको भूमिका रहेको टिप्पणी गर्नुभएको थियो । उहाँको उक्त अभिव्यक्तिप्रति एमालेपंक्तिले विरोध जनाएको छ ।

टिप्पणीहरू