सुन्दरी प्रतियोगिताकी सहभागीमाथिको बलात्कार काण्डमा मनोज पाण्डे जेल चलान
आठ वर्षअघिको जबर्जस्ती करणी काण्डमा अघिल्लो महिना पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुध्दको मुद्दामा जारी बहस सकिएर उनलाई भर्खर जेल पठाउने आदेश भएको छ ।
पाण्डेविरुध्द सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा गत बिहीबारदेखि वयान र शुक्रवारदेखि बहस शुरु भएको थियो । उनीविरुध्द मानव बेचविखन तथा ओसारपसार र बालयौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो ।
यस्तो मुद्दामा कसूर हेरी १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्म सजाय हुनसक्थ्यो । आठ वर्षअघिको सुन्दरी प्रतियोगितामा भाग लिएकी तत्कालीन १६ वर्षे किशोरी सुस्मिता रेग्मी (उनी आफैं सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा खुलेर आएकी र उनको परिचय कतै नलुकाइएकाले नाम जस्ताको तस्तै उल्लेख गरिएको) ले आफूमाथि पीडाको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।
त्यसपछि पाण्डेलाई प्रहरीले काठमाडौंको स्वयम्भू नजिकैबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतमा शुक्रवारदेखि शुरु सुनुवाइमा पीडित किशोरी र मनोज दुबैको तर्फबाट थुनछेकको बहस सकिएसङ्गै प्रकाश ढुंगाना श्रीमानको इजलासबाट जेल चलानको आदेश आएको हो ।
बहसमा सरकारी वकिलको तर्फबाट युवा उमेरका जिल्ला न्यायाधीवक्ताहरु लक्ष्मण घिमिरे,कृष्ण भण्डारीलगायत र पाण्डेविरुध्दको अभियोगपत्र तयार गर्ने राजन हमालसहित पाँच जनाले भाग लिँदा अभियुक्त पाण्डेको तर्फबाट भने वरिष्ठ अधिवक्ता लव मैनाली,रमण श्रेष्ठ,ज्योति बानियाँ,अनन्तराज लुइँटेल र जाहेरवालीको तर्फबाट मीरा ढुंगानालगायतले प्रतिरक्षा गर्नुभएको हो ।
उता तनहुँको जिल्ला अदालतमा यस्तै प्रकृतिको मुद्दा खेपिरहेका अभिनेता पल शाह झैं पाण्डे पनि बलात्कारको हदम्याद नाघेकाले जबरजस्ती करणीको व्याख्याभित्र नपरेका हुन् ।
आठ वर्ष पुरानो घटना भएकाले पाण्डेको उक्त कार्यलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुर्व्यवहारमा जोडिएको थियो । आठ वर्षअघि पाण्डेको संलग्नतामा राजधानीको नयाँ बानेश्वरस्थित पाँच तारे होटल एभरेष्टमा आफू बलात्कृत भएको पीडितको दावी छ ।
पीडित स्वयमले पुरानो घटनाको बेलिबिस्तार लगाउँदै होटलमा रातभर आफूलाई बलात्कार गरिएको बताएकी थिइन् । उक्त काण्डबारे सडकमा चर्को आवाज उठेपछि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी वसन्त कुँवरको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएको थियो । उक्त घटनामा पूर्वसुन्दरी माल्भिका सुब्बालगायत केही अभिनेत्री पक्ष र विपक्षमा बाँडिएका थिए ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/manoj-pandey_watermark-ok.pdf” title=”manoj pandey_watermark ok”]
टिप्पणीहरू