एमाले अध्यक्षले सेनाले अमेरिकी राजदूतलाई लेखेको पत्रको जवाफ दिने
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले केहीबेरमा पूर्वराजदूतहरुसँग भेटघाट गर्न लाग्नुभएको छ । वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिलाबारे यो छलफल हुन लागेको हो ।
पूर्वराजदूत समूहले आयोजना गरेको साक्षात्कार कार्यक्रम अहिले बिहान १० बजे नयाँ बानेश्वरस्थित होटल एमारल्डमा राखिएको उक्त समूहले जानकारी दिएको छ ।
एसपीपी प्रोग्राममा नेपाली सेनाले सोझै अमेरिकी राजदूतलाई पत्र लेखेको र उक्त पत्र ओली पहिलो पटक प्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहनुभएको बेलामा लेखिएको तथ्य बाहिर आएपछि उहाँ थप अप्ठेरोमा पर्नुभएको सन्दर्भमा आजको कार्यक्रम तय गरिएको बताइन्छ ।
अध्यक्ष ओली र उहाँका शीर्ष नेताहरुले सरकारलाई जानकारी नगराई सेनाले सोझै अमेरिकी राजदूतलाई पत्र लेखेको बताए पनि प्रधानसेनापति प्रभुराम शर्माले सो को खण्डन गर्नुभएको छ । शर्माले गत साता संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै सेनाले सरकारको अनुमतिमा पत्र लेखेको र रक्षा तथा परराष्ट्र मन्त्रालयलाई बोधार्थ दिएको बताएपछि घटनाक्रम थप पेचिलो बनेको थियो ।
यसैबीच सरकारले हिजो साँझ बसेको क्याबिनेट बैठकबाट एसपीपीमा सहभागी नहुने निर्णय गर्दै अमेरिकालाई उक्त जानकारी गराउने भएको छ ।

टिप्पणीहरू